सिरहा बलात्कार घटना : मृतक रिंकुको घरमै पुगे दाहाल, प्रशासनसँग लिए जानकारी

सिरहा — सामूहिक बलात्कारपछि आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिरहाकी रिंकु सदाको घटनाबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालले सिरहा प्रशासनसँग जानकारी लिएका छन् । मधेश जनजागरण अभियानका क्रममा सिरहा आइपुगेका उनी घटनाबारे जानकारी लिएका हुन् ।

 

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी प्रमुख रमेश पण्डित, सशस्त्र प्रहरी प्रमुख नरेश भण्डारी लगायतलाई भेट्दै उनले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गर्न आग्रह गरे । रिंकुको घटनामा धेरै खालका आशंकाहरू देखिएको उनले बताएका थिए ।

दाहालले कुरा राखिसकेपछि प्रजिअ र सुरक्षा निकायका प्रमुखले पीडित परिवारबाट प्राप्त भएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा कुनै प्रकारको दबाब नरहेको जवाफ दिएका थिए ।

दाहाल शनिबार बिहान मात्रै नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित रिंकुको घर पुगेका थिए । उनले परिवारलाई न्याय दिलाउने आश्वासन पनि दिए ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस घटनाका विषयमा समाचार आएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा तीन जना प्रहरीको नियन्त्रणमा छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः