विदेह नपामा ८३ कर्मचारी बर्खास्त

spot_img

धनुषा जिल्लाको विदेह नगरपालिकामा प्रशासनिक तहमा कार्यरत ८३ जना कर्मचारीलाई बर्खास्त गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले ती कर्मचारीहरुलाई बर्खास्त गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साहले नगर प्रहरी, डोर हाजिरी, नयाँ नियुक्ति तथा करार सेवाका विभिन्न तहका कर्मचारीलाई हटाइएको बताए । उनले विदेह नगर प्रहरीतर्फ असईदेखि प्रहरीसम्म १२ जना, नयाँ नियुक्ति भएका १० जना, डोर हाजिरीका ३५ जना, ६ महिनाका लागि नियुक्त गरिएका करार सेवाका २० जना तथा १ वर्षका लागि नियुक्त गरिएका ६ जनालाई पत्राचार गर्दै पदमुक्त गरेका छन् ।

स्थायी कर्मचारीहरूमध्ये छैटौं तहका कर्मचारी दानी ठाकुर र स्टोरका कर्मचारी भुला यादवलाई पाँच वर्षका लागि ग्रेड वृद्धि रोक्का गर्न सिफारिस गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत साहले यसको पुष्टि गर्दै भने, “नयाँ नियुक्त गरिएका १० कर्मचारी हटाइएको छ । परीक्षा लिने क्रममा अवजेक्टिभ प्रश्नपत्र बाहिरिएको गुनासो आएको थियो, जस कारण ती कर्मचारी हटाइएका हुन् ।”

कार्यविधि मिचेर करार सेवामा कर्मचारी राखिएको तथा राज्य कोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी नियुक्त गरिएकाले तिनीहरूलाई हटाइएको उनले प्रस्ट्याए । साहले दिएको जानकारी अनुसार नगरपालिकामा सुशासन कायम गर्न र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्न यो कदम चालिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले त्यति धरै संख्यामा कर्मचारी बर्खास्त गरेपछि बर्खास्तीमा परेका कर्मचारीहरुले विरोध जनाएका छन् । यसका साथै उनले कार्यविधि मिचेर करार कर्मचारी राखिएको र राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी राखिएको भन्दै उनीहरूको नियुक्ति समेत खारेज गरिएको जानकारी दिए ।

कर्मचारी बर्खास्त सम्बन्धमा मेयर बेचन दासले आफ्नो सहमति नरहेको बताउँदै प्रमुख प्रशासकिय अधिकृत साहले बदमासी गरेको आरोप लगाएका छन् । ‘साह एकहोरो किसिमका रहेको र प्रशासनिक अनुभवको समेत अभाव रहेको छ’ उनले भने, गलत काम गरेकाले उनको सोमबार नै सरुवा भएको छ ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः