हमासले छाड्यो थप तीन बन्धक, इसराइलले ३६९ प्यालेस्टिनी कैदी

spot_img

हमासले थप तीन बन्धकलाई शनिबार रिहा गरेको छ।

यसपटक बन्धकमुक्त हुने पनि तीनै जना पुरूष छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाँकी रहेका सबै बन्धकहरूलाई शनिबार रिहा गर्न हमासलाई चेतावनी दिएका थिए।

त्यसका बाबजुद पनि उसले आज तीन जनामात्रै बन्धक छाडेको हो।

शनिबार बन्धकमुक्त हुनेहरूमा रूसी मूलका इसराइली नागरिक २९ वर्षीय अलेक्जेन्डर ट्रुफेनभ, अमेरिकी मूलका इसराइली नागरिक ३६ वर्षीय डेकेल चेन र अर्जेन्टिनी मूलका इसराइली ४६ वर्षीय लाइर हर्न छन्।

हमासले तीन जना बन्धक रिहा गरेपछि इसराइलले ३६९ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्दैछ। केही कैदीहरू जेलमुक्त भई वेस्ट ब्यांक पुर्‍याइसकिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

बांकी रहेकाहरूलाई पनि कैदमुक्त गर्ने प्रक्रिया भइरहेको बताइएको छ।

माघ ५ देखि युद्धविराम सुरू भएकोमा हमासले शनिबारसहित २४ जना बन्धक छाडिसकेको छ। इसराइलले यसअघि ७३० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ। शनिबार थप ३६९ जना छुट्नेछन्।

४२ दिनको पहिलो चरणको युद्धविराममा हमासले ३३ जना बन्धक र इसराइलले झन्डै २ हजार प्यालेस्टिनी कैदीलाई छाड्ने सम्झौता थियो।

गत बिहीबारसम्म युद्धविराम टुट्न सक्ने त्रास पैदा भएको थियो। हमासले इसराइललाई युद्धविरामका सर्तहरु पूरा नगरेको आरोप लगाएर हमासले शनिबार बन्धक छाड्न ढिला गर्ने भनेको थियो।

त्यसपछि अमेरिकी राष्ट्रपतिले बन्धक नछाडे गजामा विध्वंश हुने चेतावनी दिएका थिए। इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले पनि बन्धक नछाडे गजामा आक्रमण गर्ने धम्की दिएका थिए।

हमासले बन्धक छाडेसँगै सम्झौताअनुसार थप बन्धक रिहा हुने र दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तताको बाटो खुलेको भनिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः