डुबेर युवकको मृत्यु

वीरगञ्ज । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ ।

राजदेवी-७ मुडवलवा निवासी २२ वर्षीय सुरज यादव मूर्ति विसर्जनका क्रममा नदीको गहिराइमा फसेर बेपत्ता भएका थिए । मङ्गलवारदेखि नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उनको खोजी गरिरहेका थिए ।

यादव बेपत्ता भएको खबर पाए लगत्तै प्रहरी, स्थानीय युवाहरू र गोताखोरहरूले खोजी कार्य सुरु गरेका थिए । नदीको प्रवाह तेज भएका कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बुधवार बिहान यादवको शव डुबेकै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिए । शव पानीमुनि अड्किएको अवस्थामा फेला परेपछि स्थानीयले माछा मार्ने जालको सहायताले बाहिर निकालेका थिए ।

हरेक वर्ष मूर्ति विसर्जनका क्रममा यस्ता दुर्घटनाहरू हुने गरे पनि आवश्यक सुरक्षाका उपायहरू अपनाइँदैन । स्थानीय प्रशासन र सुरक्षा निकायले विसर्जन स्थलमा सुरक्षाकर्मी, डुङ्गा, लाइफ ज्याकेट, र आपत्कालीन उद्धार टोलीको उचित व्यवस्था गर्नुपर्ने देखिएको छ ।

प्रहरीका अनुसार, नदी किनारमा आवश्यक सावधानी नअपनाउँदा यस्ता घटनाहरू दोहोरिने गरेका छन् । मूर्ति विसर्जनका लागि तोकिएको सुरक्षित स्थानमा मात्रै विसर्जन गर्ने, पानीको गहिराइ र बहावको जानकारी लिने तथा जोखिमपूर्ण स्थानमा नगई लाइफ ज्याकेटको प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी यादवको शव पोस्टमार्टमपछि परिवारलाई बुझाएको छ । मृतकका परिवारजन शोकमा रहेका छन् ।

यस घटनाले नदी किनारमा हुने धार्मिक क्रियाकलापका क्रममा सुरक्षाको चासो बढाउनु आवश्यक रहेको देखाएको छ । स्थानीय प्रशासनले आगामी वर्षदेखि मूर्ति विसर्जनलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष योजना बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः