
वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित बाराका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–३ निवासी २२ वर्षीय नितेश गुप्ता रहेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा गुप्तालाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका गुप्ता ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार थिए। चेकजाँचका क्रममा उनको साथबाट भारतीय रुपैयाँ १ लाख र नेपाली रुपैयाँ २ हजार ७१५ फेला परेको थियो। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।
गुप्ताको साथबाट मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार, मोबाइल सेट २१ हजार तथा स्रोत नखुलेका नगदसहित नेपाली ३ लाख ३३ हजार ७१५ रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको छ। पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी अधिकारीहरूले जनाएका छन्।




