वीरगञ्जको भन्सार क्षेत्रमा सटर बन्द गरेर भागाभाग

वीरगञ्ज। वीरगञ्ज, वडा नम्बर १६ भन्सार क्षेत्रमा बुधबार बजार अनुगमन टोली पुग्दा सेकुवा, मदिरा होटल र किराना पसलका व्यापारीहरू पसल नै बन्द गरेर भागेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि मन्दिप यादवको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीलाई देख्नासाथ व्यापारीहरू सटर झारेर भागेका हुन्। अनुगमन टोली दिउँसो २ः३० बजे भन्सार क्षेत्रमा पुगेको थियो। उपभोक्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष अजित भुजेलले करिब दुई दर्जन पसलका व्यवसायीहरू पसल छाडेर हतारहतार भागेको जानकारी दिए।

भुजेलले भने, “टोली भन्सार क्षेत्रमा पुगेर गाडीबाट झर्न नपाउँदै व्यापारीहरू सरसामान छाडेर सटर बन्द गरेर भागे। त्यहाँ केही समय पसलेहरूको भागाभाग भयो।”

अनुगमनका क्रममा प्रमोद होटल, प्रिन्स एण्ड प्रिती किराना जेनरल स्टोर, र कृष्ण सेकुवा कर्नर मा भने अनुगमन गरिएको थियो। त्यस क्रममा म्याद गुज्रिएका बेसन, सेवई, सन्पापडी, बिस्कुटजस्ता सामग्री जफत गरी नष्ट गरिएको भुजेलले जानकारी दिए।

टोलीले होटल तथा किराना पसलहरूको सरसफाइ अवस्था, व्यवसाय दर्ता, र इजाजतपत्रहरूको अवस्थाबारे अनुगमन गर्ने योजना बनाएको थियो। तर, अधिकांश पसलेहरू सटर बन्द गरेर भागेपछि अन्य पसलहरूमा अनुगमन गर्न नसकिएको भुजेलले बताए।

टोलीले केही पसलेहरूलाई बोलाएर सरसफाइलाई चुस्त राख्न, व्यवसाय दर्ता नगरेको भए दर्ता गर्न, र नविकरण गर्न आग्रह गरेको थियो।

अनुगमन टोलीमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका कविकान्त कुशवाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका निमित्त अधिकृत जगत चौधरी, होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका उपाध्यक्ष रचेन्द्र थापा, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, र वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी सहायक निरीक्षक रामविश्वास पटेल सहभागी थिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः