धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् ।
बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन् । पीडित पक्षले तनुजको हत्या गाउँकै एउटा परिवारको मिलेमतोमा २५ वर्षीय खगेन्द्र कठायतले गरेको जिकिर गरेका छन् ।
घटनामा गाउँकै दिलखुश चौधरी, उहाँकी श्रीमती शुकनीदेवी र नाबालक छोराको संलग्नता रहेको मृतकका बुबा निमराज चौधरीले बताउनुभयो । उहाँका अनुसार घटना हुनुभन्दा अगाडि शुकनीदेवी र खगेन्द्रबिच फोनमा कुराकानी भइरहन्थ्यो ।
चौधरी भन्नुहुन्छ, “असार १० गते उनीहरुले नै घरबाट मेरो छोरालाई बोलाएर मोयाँस्थित रोपाइँ खेतसम्म लैजानु, त्यहाँबाट साँझ खगेन्द्रको हातमा सुम्पिनुले उनीहरुको संलग्नता पुष्टि हुन्छ ।”
पीडित पक्षका अनुसार रोपाइँ गर्ने ठाउँमा दिलखुश, खगेन्द्र र त्यहाँ काम गर्ने अरुले गँगटाका परिकार र रक्सी खाएका थिए । साँझ घर फर्कने बेलामा अरु फरक–फरक बाटो लागे पनि खगेन्द्र, तनुज र दिलखुशका छोरालाई संगै घर फिर्ता पठाएका थिए । यद्यपि, १५ वर्षीय बालक जो मृतकका साथी पनि थिए, उनले तनुजलाई जङ्गलमा खगेन्द्रसँगै छोडेर घर फर्केको पीडित पक्षको भनाइ छ ।
तनुज घर नफर्केपछि अभिभावकले दिलखुश र खगेन्द्रको घरमा पटक–पटक सोधपुछ गरेका थिए । तीन दिनपछि गाउँ नजिकैको सामुदायिक वनमा ढुङ्गाले हिर्काएर विभत्स हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको थियो ।
खगेन्द्रले घटनाको बारेमा दिलखुश र उनकी श्रीमतीलाई पहिले नै जानकारी गराइसकेको भए पनि उनीहरुले घटना लुकाउने, ढाकछोप गर्ने कार्य गरेको पीडित पक्षको आरोप छ ।
मृतककी आमा राधाले छिमेकी परिवारको संलग्नतामा आफ्नो छोराको हत्या भएको भन्दै उनीहरु सबैलाई कारबाहीको माग गर्नुभएको छ । “मेरो छोराले न्याय पाउनु पर्छ” उहाँले भन्नुभयो, “उनीहरुलाई पक्राउ गरेर तुरुन्त छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दछु ।”
धनगढी उपमहानगरपालिका र गौरीगङ्गा जोड्ने सिमानामा रहेको कालिका सामुदायिक वनमा विभत्स हत्या गरिएको अवस्थामा तनुजको शव भेटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दिलखुश, १५ वर्षीय बालक र खगेन्द्रका बुबा टेक कठायतसहित स्थानीय एक व्यक्तिलाई समेत सुरुमै पक्राउ गरेको थियो ।
हत्यामा संलग्न रहेको पुष्टि हुन नसकेपछि तीन दिनपछि आरोपितहरु छुटेका थिए । खगेन्द्र भने घटनापछि फरार भएका थिए । भारततर्फ भाग्दै गरेको अवस्थाबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । हत्याका अभियुक्तलाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालयले साउनमै कारागार चलान गरिसकेको छ ।
मृतक बालकका हजुरआमा महन्तादेवी चौधरीले दिलखुशको परिवारले आफ्नो नातीलाई खगेन्द्रको हातमा सुम्पिने कार्य गरेकोले उनीहरुमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो ।
“हामीले न्याय पाउनु पर्छ” उहाँले भन्नुभयो । त्यस्तै, स्थानीय भागीराम चौधरीले घटना हुनुभन्दा अगाडि उनीहरुबिच पटक–पटक फोनमा कुराकानी भएकोले मिलेमतोमै घटना घटाइएको जिकिर गर्नुभयो ।






