वीरगञ्ज । सुर्खेत प्रहरीले स्वचालित पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार उनीहरूविरुद्ध यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो।
बयानका आधारमा हतियार बरामद
प्रहरीका अनुसार भदौ २२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत हवल्दार कृष्णबहादुर रानासमेतले भीमबहादुर र भूपेन्द्रविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरेका थिए।
त्यसपछि भदौ २६ गते गरिएको सोधपुछका क्रममा भूपेन्द्र शाहीले दैलेखको आठबिस नगरपालिका–४ स्थित राकम खोली बजारनजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको बताएका थिए।
उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको नेतृत्वमा टोली खटाइएको थियो। दैलेख प्रहरीको सहयोगमा परिचालित टोलीले उक्त स्थानमा खोजी गर्दा खोल्साको झाडीमा प्लास्टिकको पोका बनाएर लुकाइएको अवस्थामा स्वचालित पेस्तोल फेला पारेको हो।
पेस्तोलसँगै गोली र म्यागजिन बरामद
प्रहरीले घटनास्थलबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने पाँच राउन्ड गोलीसमेत बरामद गरेको डीएसपी बोहराले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।






