
वीरगञ्ज । वीरगञ्ज र जनकपुरमा आजबाट जय ट्रफी पुरुष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको जय ट्रफी प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित बागमती प्रदेश र मधेस प्रदेश गरी चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच वीरगञ्जमा हुनेछ भने दोस्रो खेल बागमती प्रदेश र मधेस प्रदेशबिच जनकपुरमा हुनेछ । लिग चरणका खेलहरू सिङ्गल राउन्ड रोविन प्रणालीमा खेलाइनेछ, जसमा शीर्ष दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल तीन दिवसीय फम्र्याटमा हुने क्यानका अनुसार प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय फम्र्याटमा हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुनेछ । प्रतियोगिता क्यानका पूर्व अध्यक्ष जयकुमार शाहको नाममा आयोजना गरिएको हो ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शीर्ष चार स्थान हासिल गरेका टोलीहरू सहभागी छन् ।
राष्ट्रिय खेलाडीको अभाव प्रतियोगितामा केही प्रमुख खेलाडीको अनुपस्थिति रहनेछ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको टोली एपीएफ शीर्ष चारमा नपरेको कारण उनले प्रतियोगिता खेल्न पाउने छैनन् । त्यसै गरी, आसिफ शेख, लोकेश बम, र सन्दीप जोरालजस्ता राष्ट्रिय खेलाडीहरू पनि प्रतियोगिताबाट बाहिर रहेका छन् ।

नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले भने युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टी–२० मा सहभागी हुने भएकाले प्रतियोगिता गुमाउनेछन् । उनको ठाउँमा नेपाली पुलिस क्लबको कप्तानी वीरगञ्जका आरिफ शेखले गर्ने छन् ।
प्रतियोगिता राष्ट्रिय खेलाडीहरूको प्रदर्शनको स्तर बढाउन र नयाँ खेलाडीलाई मौका दिने उद्देश्यले आयोजना गरिएको क्यानले जनाएको छ । क्रिकेट प्रेमीहरूका लागि प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
वीरगञ्ज र जनकपुरमा हुने खेलहरूलाई सफल बनाउन स्थानीय व्यवस्थापनको तयारी उच्च भएको आयोजकले जनाएको छ ।




