नेपालका औद्योगिक घरानाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल क्लाउडसँग रणनीतिक सहकार्य गर्दै उक्त परियोजना अघि बढाएको हो।
गुगल क्लाउडले कम्प्युटिङ, डेटा स्टोरेज, विश्लेषण र मेसिन लर्निङ लगायतका सेवाहरू प्रदान गर्छ, जुन विश्वभरका विभिन्न डिजिटल सेवाको आधारभूत पूर्वाधार पनि हो।
यस परियोजनामा ताइवानस्थित वीवीडीएन टेक्नोलोजी पनि रणनीतिक साझेदारका रूपमा जोडिएको छ।
उक्त कम्पनीले कम्प्युटिङ, लिक्विड कुलिङ सोलुसन तथा प्राविधिक संरचनागत व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ।
चोभारमा अगस्टदेखि डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसै क्रममा गुगल र वीवीडीएनका प्रतिनिधिहरू हाल काठमाडौंमा पुगेका छन्।
माइक्रोन र एएमडीजस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूको उपस्थितिमा ब्लुचीनले आज परियोजनाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
यसबीच, सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार भइरहेको संकेत गर्दै अन्य बहुराष्ट्रिय कम्पनीहरूसमेत नेपालमा पूर्वाधार विकासतर्फ आकर्षित हुँदै गएको देखिएको छ।






