बीरगंज, २२ वैशाख । बाराको कलैया उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा गरिएका अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहद्वारा जारी गरिएको उक्त सूचनामा नगर क्षेत्रभित्र रहेका सडक, खोला, नाला, ऐलानी, पर्ती, गौचर, विद्यालय, सार्वजनिक पोखरी, धार्मिक स्थल तथा बजार क्षेत्र वरिपरि निर्माण गरिएका अवैध संरचनाहरू ३५ दिनभित्र स्वेच्छाले हटाउन निर्देशन दिइएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को ‘एक सय बुँदे कार्ययोजना’ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले यो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ।
सूचनामा तोकिएको अवधिभित्र घर, टहरा, घेरा वा अन्य कुनै पनि किसिमका संरचनाहरू नहटाएमा उपमहानगरपालिकाले कानुनी प्रक्रिया बमोजिम आफैँ हटाउने चेतावनी समेत दिएको छ।
साथै, उपमहानगरपालिकाले नागरिकहरूलाई सरकारी जग्गा अतिक्रमण नगर्न र जोखिमपूर्ण स्थानमा बसोबास नगर्न समेत आग्रह गरेको छ।






