पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित गदियानी टोलमा शनिबार राति करिब ११ बजे भीषण आगलागी हुँदा तीन वटा फुसका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट घरभित्र रहेका नगद, लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोगका सामग्रीसँगै एउटा भैँसी र एक मोटरसाइकलसमेत जलेर नष्ट भएको छ । स्थानीयका अनुसार आगलागीबाट मोस्तकीम मिया, सफरोदीन अन्सारी र जैनोदिन अन्सारीका घर पूर्ण रूपमा खरानी भएका हुन् । अचानक सल्किएको आगो तीव्र गतिमा फैलिँदा घरभित्र रहेका अधिकांश सामग्री जोगाउन नसकिएको बताइएको छ ।
स्थानीय अगुवा हजरत अली गद्दीका अनुसार आगलागीबाट तीनै परिवारको गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनापछि गाउँमा केहीबेर त्रासको अवस्था सिर्जना भएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सखुवा प्रसौनी गाउँपालिकाबाट दमकल घटनास्थलमा पुगेको थियो। दमकल टोली, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । समयमै नियन्त्रणमा लिएकाले थप घरमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन् । आगलागीबाट घरबारविहीन बनेका पीडित परिवार हाल खुला आकाशमुनि बस्न बाध्य भएका छन् । बसोबास, खानपान तथा अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका उनीहरूलाई तत्काल राहत, अस्थायी आवास तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीयवासीले गाउँपालिका तथा वडा कार्यालयसँग माग गरेका छन् ।
यस घटनाले पीडित परिवारको जनजीवन संकटमा परेकाले सम्बन्धित निकायले शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको पहल गर्नुपर्ने देखिएको छ ।






