अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

spot_img

वीरगञ्ज, पुस १८ गते। खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताउनुभएको छ।

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै हुने गरेको भए पनि आगामी वर्षदेखि काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताउनुभयो।

“विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीको पानी बन्द हुने गर्थ्यो, अब हामीले वर्षातको समयभरि नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “अब बाह्रै महिना मेलाम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ।”

मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताउनुभयो।

काठमाडौँ उपत्यकासहित देशभरका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजना अघि सारेको बताउनुहुँदै मन्त्री यादवले भन्नुभयो, “नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजना अघि सारेको छ। मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अध्ययन सुरु भएको छ।”

जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने अनि पिठ्युँमा बोकेर  खानेपानीको जोहो गर्नु दुःखद भएको उहाँको भनाइ छ।

जलवायु परिवर्तनले तराईमा पानी सुक्दै गएको पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नुपरेको र समस्या समाधन गर्न निकै चुनौतीपूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः