वीरगञ्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका सदस्यहरू संलग्न रहेको ‘ज्यान मार्ने उद्योग’ मुद्दामा नयाँ मोड आएको छ। लामो समयदेखि लुकिछिपी बस्दै आएका सभापति अजयसहितका अभियुक्तहरू अदालतमा हाजिर भई धरौटीमा रिहा भएका छन् भने दुई जना अझै फरार रहेका छन्।
पर्सा जिल्ला अदालतमा मंगलबार हाजिर भएका सभापति निरञ्जन प्रसाद सोनार (अजय) २५ हजार रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका हुन्। यस्तै, बुधबार अदालत पुगेका सन्तोष भनिने सुमु प्रसाद सोनार र महेश्वर सरार्फ जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। यसअघि नै प्रहरीले पक्राउ गरी १० गते अदालतमा बुझाएका साहिल सरार्फ ५० हजार धरौटीमा छुटिसकेका छन्।
यही गम्भीर मुद्दामा संलग्न रहेका संतोषका बुबा त्रिलोकी साह सोनार र छोरा उत्तम भनिने दिवस सरार्फ अझै फरार रहेका छन्। ज्यान मार्ने जस्तो जघन्य अपराधको मुद्दामा संलग्न व्यक्तिहरू फरार रहँदा पनि प्रहरीले ठोस सफलता पाउन नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
रामबाबु साह सोनारको जाहेरीले चलेको यो मुद्दाको अनुसन्धानका क्रममा अदालतले अभियुक्तहरूले प्रमाण नष्ट गर्न सक्ने वा भाग्न सक्ने प्रबल सम्भावना औंल्याउँदै तुरुन्त पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो। तर, सत्ता र शक्तिको आडमा अभियुक्तहरूले आफूमाथि कुनै पक्राउ पूर्जी जारी नभएको भन्दै भ्रम फैलाउँदै आएका थिए। सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि र चौतर्फी दबाब बढेपछि मात्र उनीहरू अदालतमा ‘सरेन्डर’ गर्न पुगेका हुन्।
एक जिम्मेवार संवैधानिक निकाय (जिल्ला समन्वय समिति) को प्रमुख नै ज्यान मार्ने जस्तो उद्योगमा मुछिनु र लामो समयसम्म कानुनलाई छलेर बस्नुले पर्सामा सुशासनको अवस्था कस्तो छ भन्ने उदाङ्गो पारेको छ। फरार रहेका बुबा-छोरालाई प्रहरीले कहिलेसम्म पक्राउ गर्छ वा उनीहरू पनि ‘सेटिङ’ कै आधारमा अदालत पुग्छन्, त्यो भने हेर्न बाँकी छ।




