२५ लाख डलर चोरी मामिलामा श्रीलङ्काले थाल्यो छानबिन

वीरगञ्ज,अर्थ मन्त्रालयको कम्प्युटर प्रणालीमा घुसपैठ गरेर ह्याकरहरूले करिब २५ लाख अमेरिकी डलर चोरी गरेको मामिलामा श्रीलङ्काले विस्तृत अनुसन्धान सुरु गरेको छ । अधिकारीहरूका अनुसार उक्त रकम अस्ट्रेलियालाई तिर्नुपर्ने द्विपक्षीय ऋण भुक्तानीको हिस्सा थियो, जसको राफसाफ २०२५ को सेप्टेम्बरमा हुनेवाला थियो । तर जनवरी महिनातिर नै साइबर अपराधीहरूले हस्तक्षेप गरी रकम अन्य बैंक खातामा मोडेको विश्वास गरिएको छ । घटना अहिले मात्र सार्वजनिक भएको हो ।

“श्रीलङ्काले तोकिएको भुक्तानी गरिसकेको भए पनि साइबर अपराधीहरूले बिचमै हस्तक्षेप गरेर रकम लक्षित प्रापकसम्म पुग्न नदिई अन्य खातामा सारिदिए,” वित्त मन्त्रालयका सचिव हर्षणा सुरियापेरुमाले बिहीबार सञ्चारमाध्यमलाई भने । यस घटनापछि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका चार वरिष्ठ अधिकारी निलम्बन गरिएको छ । चोरी कसरी भयो भन्ने कुरा स्पष्ट छैन । साथै, कानुन कार्यान्वयन गर्ने विदेशी निकायहरूसँग पनि सहयोग मागिएको छ ।अनुसन्धानकर्ताहरूका अनुसार ह्याकरहरूले इमेलमार्फत पठाइने भुक्तानी निर्देशनहरूमा हेरफेर गरेर रकम चोरी गरेका हुनसक्ने आशङ्का छ । अस्ट्रेलियाली पक्षले रकम नपाएको गुनासो गरेपछि मात्र यो घटना उजागर भएको हो । उपवित्तमन्त्री अनिल जयन्त फर्नान्डोले बताएअनुसार भारततर्फ गरिने अर्काे भुक्तानी पनि परिवर्तन गरिएको देखिएपछि थप शंका उत्पन्न भएको थियो । अधिकारीहरूले अहिले सुरक्षा संयन्त्रहरू किन असफल भए र चोरी भएको रकम फिर्ता ल्याउन सकिने सम्भावनाबारे अनुसन्धान गरिरहेका छन् ।देश अझै २०२२ को गम्भीर आर्थिक संकटबाट उकासिने प्रयासमा रहेको अवस्थामा भएको यो साइबर आक्रमण श्रीलंकाका लागि थप झट्का बनेको छ । त्यसबेला विदेशी मुद्रा सकिएपछि सरकारले खाना, इन्धन र औषधि आयात गर्न सकेको थिएन । यसका कारण जनजीवन प्रभावित भएपछि सरकारविरुद्ध व्याक विरोध प्रदर्शन भएको थियो । ती आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्ष सत्ताच्युत भएका थिए ।कोलम्बोस्थित अस्ट्रेलियाली उच्चायुक्त म्याथ्यू डकवर्थले अस्ट्रेलियालाई तिर्नुपर्ने रकममा अनियमितता भएको जानकारी पाएको र अनुसन्धानमा सहकार्य भइरहेको बताएका छन् । यस घटनाकै बीचमा श्रीलंकाको केन्द्रीय बैंक र वित्त मन्त्रालयले नागरिकलाई साइबर ठगीबाट सचेत रहन आग्रह गर्दै प्रचार अभियान समेत सञ्चालन गरिरहेका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः