निर्वाचन आयोग ले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पारेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे ले केही स्थानीय तहका जनप्रतिनिधिहरू दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यस्तो गतिविधि निर्वाचन आचारसंहिता विपरीत हुने बताएका छन् ।
उनका अनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ मा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा संलग्न हुन नपाउने स्पष्ट व्यवस्था गरिएको छ । सोही प्रावधानलाई कार्यान्वयन गर्दै आयोगले सम्बन्धित जनप्रतिनिधिहरूलाई आचारसंहिता उल्लंघन नगर्न अनुरोध गरेको छ ।
घिमिरेले भने, “केही स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसारमा आचारसंहिता विपरीत सहभागिता जनाएको भन्ने गुनासाहरू आयोगमा आएका छन् । यस विषयमा आयोगले निर्णय गरी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने व्यवस्था स्पष्ट गरिएको छ ।”
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।




