वीरगञ्ज, ०८ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।रमाइलोका लागि प्रयोग गरिने सामाजिक सञ्जाल टिकटकलाई निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको प्रभावकारी माध्यम बनाउने उद्देश्यले आयोगले यो नयाँ अभियान सुरु गरेको हो । यस प्रतियोगिता अन्तर्गत निर्वाचनको महत्त्व, मत हाल्ने सही तरिका र निर्वाचन आचारसंहिता जस्ता सन्देशमूलक विषयमा आधारित भएर एक मिनेटसम्मको भिडियो बनाउनुपर्ने प्रावधान राखिएको छ ।प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति वा समूहले आफ्नो मौलिक आवाज र अभिनयमा तयार पारेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरी आगामी फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ । प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी ‘भ्युअर्स’ प्राप्त गर्ने उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ । जसअनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिनेछ ।आयोगका अनुसार यो प्रतियोगिताले विशेषगरी युवा वर्गलाई निर्वाचन प्रक्रियामा जोड्न र मतदातामा सचेतना फैलाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । भिडियोहरू संवादमूलक र सूचनामूलक हुनुपर्ने तथा त्यसमा प्रयोग गरिने सामग्रीमा आयोगको अधिकार रहने समेत प्रस्ट पारिएको छ ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




