वीरगञ्ज । श्रीसिया नदी बचाऊ अभियान समितिले श्रीसिया नदीमा निरन्तर औद्योगिक प्रदूषण गरिरहेका उद्योगहरूमाथि तत्काल कारबाही गर्न माग गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघलाई औपचारिक चेतावनी दिएको छ ।
अभियानका प्रतिनिधिहरूले बुधबार उद्योग वाणिज्य संघका अध्यक्षलाई निवेदन पत्र बुझाउँदै बीरगञ्ज क्षेत्रका विभिन्न उद्योगहरूले लामो समयदेखि श्रीसिया नदीमा औद्योगिक फोहोर, रासायनिक पदार्थ तथा विषाक्त ढल विसर्जन गर्दै आएको आरोप लगाएका छन् ।निवेदनमा उल्लेख गरिएअनुसार प्रदूषणका कारण श्रीसिया नदीको पानी अत्यन्तै दूषित भएको छ, जसले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरेको छ । साथै खेतीयोग्य जमिनको उर्वराशक्ति नष्ट हुनुका साथै जलचर जीव लोपोन्मुख अवस्थामा पुगेको र समग्र वातावरणीय सन्तुलनमा गम्भीर असर परेको अभियानको दाबी छ ।
श्रीसिया नदी बचाऊ अभियान समितिले उद्योग वाणिज्य संघ उद्योगीहरूको छाता संगठन मात्र नभई सामाजिक तथा वातावरणीय दायित्व बोकेको संस्था भएकाले प्रदूषण गर्ने उद्योगहरूमाथि कडा अनुशासनात्मक कारबाही गर्नुपर्ने जनाएको छ । निवेदनमार्फत संघलाई ७२ घण्टाभित्र प्रदूषण रोक्न ठोस र प्रभावकारी कदम चाल्न चेतावनी दिइएको छ ।
अभियानले तोकिएको समयभित्र कुनै पहल नभए आगामी शनिबारदेखि वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा अनिश्चितकालीन धर्ना, विरोध प्रदर्शन तथा अन्य कानुनी कदम चालिने स्पष्ट पारेको छ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी संघको नेतृत्वले लिनुपर्ने चेतावनी पनि निवेदनमा उल्लेख गरिएको छ ।
श्रीसिया नदी बचाऊ अभियानले नदी संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै समयमै समस्या समाधान गर्न उद्योग वाणिज्य संघ गम्भीर बन्ने विश्वास व्यक्त गरेको छ ।





