जेनजी र सरकारबिच सम्झौताको ड्राफ्ट तयार, भोलि हस्ताक्षर हुने

वीरगञ्ज। सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा (ड्राफ्ट) टुङ्गो लागेको छ । मंगलबार जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबिच सम्झौताको मस्यौदा टुङ्गो लागेको जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिए । यससँगै सम्झौताको अन्तिम ड्राफ्टलाई अनुमोदन गरी हस्ताक्षरको लागि तयार पारिएको छ । विभिन्न चरणका छलफलपछि तयार पारिएको यो सम्झौतामा भोलि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ ।

 

सम्झौता पत्रमा हस्ताक्षर समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने बताइएको छ । यो सम्झौताको मुख्य उद्देश्य गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई औपचारिक र संस्थागत स्वरूप प्रदान गर्नु रहेको अर्का अभियन्ता प्रसुज मैनालीले बताए ।

जेनजीहरूले सरकारसमक्ष आफ्ना मागहरू समावेश गरी विभिन्न बुँदामा सम्झौताको माग गर्दै आएका थिए । यसअघि सरकार र जेनजी प्रतिनिधिहरूबिच सहमति हुन नसक्दा सम्झौतामा के–कस्ता विषयहरू समेट्ने भन्ने कुरा टुङ्गिएको थिएन ।

दुवै पक्षले गहन छलफल गरी सम्झौताको ड्राफ्ट तयार पारेको मैनालीले बताए । यस मस्यौदामा जेनजीका मागहरू सम्बोधन गरिएका विभिन्न बुँदाहरू उल्लेख गरिएका छन् ।आजमात्रै जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

 

भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । भेटमा गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः