वीरगञ्ज— पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा आज विहान सुरक्षा निकायले विशेष सूचनाका आधारमा गरेको छापामार कारवाहीबाट ठूलो परिमाणमा अवैध मोबाइल फोन बरामद गरिएको छ।
मिति २०८२ कार्तिक ३० गते बिहान करिब ११ः१० बजे प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल बीओपी महादेवपट्टीका स.प्र.ब.ह सुरेन्द्र चौधरीको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा पुगेको थियो।
घरभित्र विस्तृत रूपमा गरिएको खोजतलासका क्रममा धानको भित्री भागमा लुकाएर राखिएको अवस्थामा करिब रु. ९ लाख बराबरका १५ कार्टुन (४५० पिस) लाभा कीप्याड मोबाइल फोन फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यी मोबाइलहरू भन्सार छल्नका लागि लुकाएर भण्डारण गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद सबै मोबाइलहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ। हालसालै सीमाक्षेत्रमा अवैध सामान तस्करीका घटनाहरू बढिरहेको समयमा गरिएको यो सफल कारवाहीले सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा भएकाे संकेत दिएको बताइन्छ।




