वीरगंज । बाराको प्रसौनी गाउँपालिका–७ बलुवा टोलमा अवस्थित श्री शोभारामचन्द्र आधारभूत विद्यालयमा १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको ६ कोठे नयाँ विद्यालय भवन हिजो शुक्रबार उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले सम्पन्न भवनको औपचारिक उद्घाटन गरेका हुन्।
गाउँपालिकाको बजेटमा निर्माण कार्य थालिएको उक्त भवन निर्धारित समयमै सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जैसवालले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर काम गर्ने आफ्नो चुनावी प्रतिज्ञा दोहोर्याउँदै प्रसौनीमा विकासका कामलाई अझ तीव्र बनाइने बताए।
कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, वडा अध्यक्ष इस्लाम मिया असारी, प्रेम बाबु पटेल, युवा समाजसेवी प्रदीप साह, शिक्षा शाखा प्रमुख सन्तोष साह, साथै स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहका अनुसार भवन सञ्चालनमा आएसँगै विद्यार्थीहरू अब थप सहज र अनुकूल वातावरणमा पठन–पाठन गर्न सक्ने भएका छन्।




