वीरगंज । वीरगंजको घण्टाघर नजिकै रहेको पानगल्लीमा निर्माण सम्पन्न भएको “गोकुल अपार्टमेन्ट” अहिले चर्चाको केन्द्रमा छ । करोडौँको लगानीमा बनेको यस अपार्टमेन्टमा पारिवारिक अंश विवाददेखि बैंक ऋणसम्मको ठूलो जालझेल फुत्किएको छ । यससँगै लगानीकर्तादेखि बैंकसम्मको रकम डुब्ने खतरा समेत देखिएको छ ।
प्रदीप रुङ्गटाको नेतृत्वमा बनेको गाेकुल अपार्टमेन्ट उनको भतिजाे आत्माराम रूङ्गटाका छोरा उमंग रुङ्गटाले अदालतमा अंश दाबी गरेपछि विवादमा तानिएको हो । दुर्गादत्त रुङ्गटाको नाममा रहेको ३० कठ्ठा पैत्रिक जग्गा तीन छोरामा बराबर १०÷१० कठ्ठा बाँडिनुपर्नेमा कान्छो छोराले ५ कठ्ठा बढी हडपेको भन्दै उमंग रुङ्गटाले अदालतमा न्यायको माग गरेका हुन् ।
उमंगका अनुसार, सोही विवादित ५ कठ्ठा जग्गामै अहिलेको गोकुल अपार्टमेन्ट निर्माण गरिएको हो । उनका अनुसार ७ कठ्ठा क्षेत्रफलमा बनेको यो अपार्टमेन्ट वास्तवमा पैत्रिक सम्पत्तिको अंशमाथि ठगीपूर्वक निर्माण गरिएको हो ।
पर्सा जिल्ला अदालतले मिति २०८२ भदौ ११ गते जग्गा खरिद–बिक्री, दान–हस्तान्तरण लगायत सम्पूर्ण कारोबार रोक्का गर्न भुमिसुधार तथा मालपोत कार्यालयलाई आदेश दिएको छ । अदालतले यसअघि बैंकमा रोक्का रहेको जग्गालाई पूर्व रोक्का फुकुवा भएपछि मात्र नयाँ रोक्का लागू हुने गरी निर्देशन दिएको छ ।
अपार्टमेन्टका निर्माणकर्ता प्रदीप रुङ्गटालाई पारिवारिक विवादको जानकारी हुँदाहुँदै पनि कानुनी प्रक्रियाको उल्लंघन गर्दै निर्माण अघि बढाएको आरोप लागेको छ । उमंग रुङ्गटाले आफ्ना हजुरबुबाहरू नथमल, शंकरलाल र बिश्वनाथ रुङ्गटा मध्ये बिश्वनाथले माइलो दाइको ५ कठा जग्गा हडपेको आरोप समेत लगाएका छन् ।
विवादमा तानिएको यो अपार्टमेन्टमा तत्कालीन एनसिसि बैंकले करिब ४७ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । बैंकमा ५० करोड बराबरको सम्पत्ति देखाएर ऋण स्वीकृत गरिएको भए पनि, पछि देखिएको कागजात र लिखतहरूबीचको फरकले बैंकका लागि समेत शंका उत्पन्न गरेको छ ।
२०७८ भदौ ३१ गते मात्र बैंकमा धितोबन्धक लिखत भएको प्रमाण भए पनि, त्यसअघि नै मिति २०७८ भदौ २५ गते एनसिसि बैंकबाट ४१ करोड ३० लाख रुपैयाँ अपार्टमेन्टका नाममा लिइएकाे र सोही दिन प्रदीप रुङ्गटाको खातामा जम्मा गरिएको देखिन्छ । यसले गोकुल अपार्टमेन्टको वित्तीय प्रक्रिया नै शंकास्पद बनाएको छ ।
पछिल्लो चरणमा एनसिसि बैंक कुमारी बैंकमा गाभिएपछि, नयाँ व्यवस्थापनले यो ऋण प्रकरणको छानबिन थालेको थियाे । अपूर्ण कागजात र कानुनी अस्पष्टताका कारण बैंकले करिब आठ महिना ऋण रोक्का राखेको थियो ।
भुमिसुधार तथा मालपोत कार्यालय पर्सामा समेत आर्थिक प्रभाव प्रयोग गरी रुङ्गटाले “लुज श्रेस्ता” कायम गराएको र फ्ल्याट बिक्री गर्न आदेश लिएको आरोप समेत सार्वजनिक भएको छ ।
हाल वीरगंजमा आर्थिक मन्दी र अपार्टमेन्ट बजारमा देखिएको गिरावटका बीच यो परियोजनाले थप प्रश्न खडा गरेको छ । न त ग्राहकको विश्वास बाँकी छ, न त फ्ल्याट बिक्रीको आश ।
थप रोचक कुरा के छ भने, दलालहरू सक्रिय भई ठूला फ्ल्याट साना पार्दै बाहिरी ग्राहकलाई आकर्षित गर्ने प्रयास भइरहे पनि अहिलेसम्म कुनै पनि फ्ल्याट बिक्री हुन सकेको छैन । यस कारण गोखुल अपार्टमेन्ट वीरगंजकै सबैभन्दा विवादित र जोखिमपूर्ण आवासीय परियोजनामा गणना हुन थालेको छ ।




