वीरगञ्ज। बारामा राष्ट्रिय वन क्षेत्रमा ३० गतेसम्म प्रवेश गर्न नपाइने भएको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ अन्तर्गत पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत हात्तीको आक्रमणबाट एकजना ड्राइभरको मृत्यु भएपछि कार्तिक ३० गतेसम्म प्रवेश गर्न निषेध गरिएको हो।डिभिजन वन कार्यालय बारा सिमराले आज सुचना जारी गर्दै हात्ती नियन्त्रणको प्रयास जारी रहेकोले वन जंगलमा जाँदा हात्ती र बाघ लगायतको वन्यजन्तुको आक्रमण हुन सक्ने प्रबल सम्भावना र धनजनको संरक्षणलाई मध्यनजर गर्दै वन ऐन, २०७६ को दफा ९ बमोजिम राष्ट्रिय वन ( सरकारद्वारा संरक्षित वन, सामुदायिक वन, साझेदारी वन) मा प्रवेश निषेध गरेको छ।
निषेध राष्ट्रिय वन क्षेत्र र सो को चार किल्ला: पर्सा राष्ट्रिय निकुञ्ज बाहेकका बारा जिल्लाको वन क्षेत्र।
पुर्व: बारा र रौतहट जिल्लाको सिमाना
पश्चिम: वीरगन्ज-हेटौडा जाने त्रिभुवन राजपथको सडक खण्ड
उत्तर: बारा र मकवानपुरको सिमाना
दक्षिण: सिमरा-बडहर्वा हुदै कोल्हवी- हिमाली बास जाने बाटो।
डिभिजन वन कार्यालयले वन क्षेत्र भित्रका पुर्व पश्चिम राजमार्ग, सहायक मार्गमा गाडी नरोक्न र पार्किङ नगर्न र प्रवेश गर्न अति नै जरुरी काम परेमा डिभिजन वन कार्यालयको सहमति लिई मात्र प्रवेश गर्न अनुरोध गरेको छ। भने सुचनाको बर्खिलाप गरे गराए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।




