२३ कात्तिक, वीरगञ्ज । आलु र प्याज बोकेर भैरहवाबाट काठमाडौं आउँदै गरेको एक ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कमेरे भिर भन्ने स्थानबाट महेश खोलामा खसेको छ । आज बिहान ३ बजेर ४५ मिनेटतिर भएको सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अझय सुनार र रामेछापको सुनापती गाउँपालिका ४ बस्ने २२ वर्षीय सन्जित खाती छन् । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट सिम्लेबाट प्रहरी सहायक निरीक्षक केशव पौडेल नेतृत्वको टोली खटिएको थियो । प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी सिम्लेस्थित राजु मेडिकल हलमा पठाएको थियो ।ट्रक भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थल अस्थायी प्रहरी पोष्ट सिम्लेबाट अन्दाजी डेढ किलोमिटर पूर्वतर्फ पर्दछ ।




