
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको हालैको अभिव्यक्ति प्रति जसपा वीरगञ्ज नगर कार्य समितिले कडा आपत्ति जनाएको छ ।
जसपा नगर समितिका अनुसार नेपाल सरकारका खानेपानी मन्त्री तथा पार्टीका उपमहासचिव प्रदीप यादवलाई बदनाम गर्ने उद्देश्यले रामनरेश यादवले तथ्यहीन र मन गढन्ते अभिव्यक्ति दिएका छन् ।
नगर समितिले यस्तो अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै विज्ञप्ति जारी गरेको छ । जसपा नगर समितिले मन्त्री यादवविरुद्धको दुष्प्रचारलाई निन्दनीय ठहर गर्दै, बिना प्रमाण र तथ्य आरोप लगाउनु राजनीतिक मर्यादा विपरीत रहेको जनाएको छ ।
समितिका अनुसार, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवको अभिव्यक्ति योजनाबद्ध रूपमा बदनाम गराउने उद्देश्यले गरिएको छ । जसपा नगर समितिले यस्तो प्रकारका अभिव्यक्तिहरू सच्चाउन आग्रह गर्दै, धान खेतमा भएको आगलागी घटनालाई तोडमोड गरी षड्यन्त्र रच्न नहुने चेतावनी पनि दिएको छ ।
यसैबिच, वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, जगरनाथपुरका कृषक हरेन्द्र यादवको धान बालीमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै नगर समितिले पीडितलाई आवश्यक सहयोगको व्यवस्था गर्नसमेत माग गरेको छ ।
जसपा नगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादवद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ ।





