
वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालमा वर्षौँदेखि बिग्रिएर प्रयोगबाहिर रहेका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका स्वास्थ्य उपकरण र औजारहरू मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिने भएको छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार बिग्रिएका उपकरणहरूमा भेन्टिलेटर, मनिटर, फोटोथेरापी मेसिन, एक्स-रे मेसिन, इसिजी मेसिन, डायलिसिस मेसिन, पल्स अक्सिमिटर, बेबी वार्मर, अडियोग्राम, एनेस्थेसिया मेसिन, र ल्याब उपकरणहरू रहेका छन्। यी उपकरणहरूलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउन केन्द्रका विशेषज्ञहरूले काम गर्नेछन्।
नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धिरज गुप्ताका अनुसार बिहीबार अस्पताल प्रशासन र महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबिच लिखित सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अस्पताल प्रशासनका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायो मेडिकल इन्जिनियर उमेश किराँतले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार केन्द्रका तीन इन्जिनियरको टोली मर्मतका लागि खटिनेछ। अस्पताल प्रशासनले पहिलो एक हप्ताका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने र काम पूरा नभए थप प्रत्येक दिनको १५ हजार रुपैयाँका दरले शुल्क प्रदान गर्ने सम्झौता गरिएको छ। मर्मतका क्रममा आवश्यक स्पेयर पार्ट्स भने अस्पताल प्रशासनले बजारबाट खरिद गरी उपलब्ध गराउनुपर्नेछ।
केन्द्रका इन्जिनियर उमेश किराँतले मर्मत कार्य पूरा भएपछि उपकरणहरू पुनः प्रयोगयोग्य अवस्थामा अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए। सम्झौतापछि केन्द्रको प्राविधिक टोलीले बिग्रिएका उपकरणहरूको अवस्था र लगत सङ्कलनको काम तुरुन्तै सुरु गरिसकेको छ।




