वीरगञ्ज । रौतहटको माधवनारायण नगरपालिका–१ दिपही गाउँमा एक १४ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दिपहीका प्रदीप जयसवालका छोरा रबिरंजन जयसवालको डुबेर मृत्यु भएको हो ।
सोमबार बिहान घरका कसैलाई नभनी रबिरंजन बाहिर निस्किएका थिए । खोजतलास गर्ने क्रममा घरदेखि करिब ५०० मिटर पश्चिमतर्फ स्थानीय बिरदुर रायको निजी पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।

स्थानीयवासी र आफन्तहरूले उनलाई तत्काल उद्धार गरी शिवनगरस्थित संजीवनी अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले दिउँसो करिब २ः३० बजे मृत घोषित गरेका थिए ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
![]()




