वीरगञ्ज। मोरङ प्रहरीले जिल्ला तथा बाहिरका कारागारबाट भागेका दुई जना कैदीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चोरी र जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्तहरू रहेका छन् ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–२ का २१ वर्षीय अभिषेक जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार असोज २९ गते राति साढे १० बजे विराटनगर महानगरपालिका–६ रानी क्षेत्रमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सवारी जाँच गरिरहेको थियो ।
सो क्रममा को १७ प ५४६२ नम्बरको स्कुटरका चालक जैसवाललाई कागजपत्र नभएको भन्दै रोकेर सोधपुछ गर्दा उनी फरार कैदी रहेको खुलेको थियो । जैसवालले आफू भदौ २४ गते आन्दोलनको मौका छोपी झुम्का कारागारबाट भागेको र चोरी मुद्दामा थुनामा रहेको स्वीकारेका छन् ।
प्रहरीले जैसवाललाई उनले प्रयोग गरेको स्कुटर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति सिन्धुली कारागारबाट भागेका हुन् । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका– ३ सोराभाग बस्ने ३१ वर्षीय उपेन मण्डल रहेका छन् । मण्डल जबरजस्ती करणी उद्योग मुद्दामा सिन्धुली कारागारबाट ८ वर्ष ६ महिनाको कैद सजाय तोकिएका व्यक्ति हुन् ।प्रहरी नायब उपरीक्षक चुडालका अनुसार मण्डललाई असोज ३० गते इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई सिन्धुली कारागार पठाउनका लागि आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




