कारागारबाट फरार पौने ५ हजार कैदीबन्दी फिर्ता, अझै सम्पर्कमा आएनन् एमाले नेता टोपबहादुर रायमाझी

वीरगञ्ज । भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलन र प्रदर्शनको फाइदा उठाउँदै देशभरका कारागारबाट भागेका १४ हजारभन्दा बढी कैदीबन्दीमध्ये हालसम्म ४ हजार ७ सय ७४ जना सम्पर्कमा आएका छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार अधिकांश कैदी स्वतःस्फूर्त रूपमा फर्किएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ २४ गते आन्दोलन चर्कँदा देशभरका कारागारमा अराजकता फैलिएको थियो । त्यसै क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्रै ३ हजार ५ सय भन्दा बढी कैदी भागेका थिए ।

भागेका कैदीमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार छन् ।

केन्द्रीय कारागारका जेलर कृष्ण कटुवालका अनुसार रायमाझीले असुरक्षाका कारण बाहिरिएको र केही दिनमा फर्कने बताए पनि उनी अझै सम्पर्कमा आएका छैनन् ।

यसैगरी, नख्खु कारागारबाट फरार भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले भने आफूलाई कारागारमा हाजिर गराइसकेका छन् । डिल्लीबजार कारागारमा रहेका पूर्व प्रदेश मन्त्री दीपक मनाङेले भने भाग्ने प्रयास गरेनन् ।

जेन-जी आन्दोलनका कारण कारागार व्यवस्थापनमा देखिएको ठूलो चुनौतीले सुरक्षा र प्रशासनिक कमजोरीलाई उजागर गरेको छ । विभागले बाँकी फरार कैदीलाई सम्पर्कमा ल्याउन प्रयास तीव्र पारेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः