जेन-जी आन्दोलनमाथि सरकारी दमनको निन्दा गर्दै वीरगञ्जका मेयर सिंहले भने, ‘म युवाहरूको न्यायपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्ध छु’

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जेन-जी युवापुस्तामाथि भएको निर्मम दमनप्रति गहिरो आक्रोश व्यक्त गर्दै तीव्र शब्दमा निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै मेयर सिंहले शान्तिपूर्ण आन्दोलनका क्रममा २० जना युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको घटनालाई ‘सभ्य समाजले सहन नसक्ने आततायी कृत्य’ को संज्ञा दिएका छन् ।

मेयर सिंहले सरकारको दमनलाई युवाको भविष्यमाथिको प्रहार भएको उल्लेख गर्दै सरकारको राजीनामाले मात्र नपुग्ने र हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् । उनले युवाले उठाएका जायज मागहरू तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

‘म युवाहरूको न्यायपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्ध छु, आवश्यक परे सडकमा उत्रन पनि तयार छु,’ उनले भने, ‘तर हाम्रो सङ्घर्ष सधैँ शान्तिपूर्ण र संयमित रहनुपर्छ । गलत तत्त्वहरूको घुसपैठ हुन नदिन सतर्क रहनुपर्छ ।’

मेयर सिंहले शान्तिपूर्ण आन्दोलनमा शाहादत प्राप्त गर्ने युवाहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘युवा शक्ति नै परिवर्तनको शक्ति हो,’ उनले लेखेका छन्, ‘युवापुस्ताले आँटेको यो सङ्घर्ष सफल होस्, भविष्य उज्ज्वल होस् ।’

सामाजिक सञ्जालमा मेयर सिंहले राखेको पोस्ट :

Gen Z युवापुस्तामाथि गरिएको निर्मम दमनप्रति म गहिरो आक्रोश र तीव्र शब्दमा निन्दा गर्दछु। शान्तिपूर्ण आन्दोलनमै २० जना युवाले ज्यान गुमाउनु र सयौँ घाइते हुनु कुनै पनि सभ्य समाजले सहन नसक्ने आततायी कृत्य हो।

यो केवल दमन मात्र होइन—युवाको भविष्यमाथि गरिएको प्रहार हो! अब केवल सरकारको राजीनामाले मात्र पुग्दैन; यस हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी सरकारले लिनपर्छ। युवाले उठाएका जायज मागहरू तत्काल सम्बोधन गरिनुपर्छ।

म युवाहरूको न्यायपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्ध छु, आवश्यक परे सडकमा उत्रन पनि तयार छु। तर हाम्रो सङ्घर्ष सधैँ शान्तिपूर्ण र संयमित रहनुपर्छ। कसैको वहकावमा नपरी, गलत तत्त्वहरूको घुसपैठ हुन नदिन सतर्क रहनुहोला ।

शान्तिपूर्ण आन्दोलनमा शहादत प्राप्त गर्ने महान् युवा योद्धाहरूलाई उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

युवा शक्ति नै परिवर्तनको शक्ति हो । युवापुस्ताले आँटेको यो सङ्घर्ष सफल होस्, भविष्य उज्ज्वल होस् शुभकामना

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः