‘भिजिट भिसा’ प्रकरणको आन्दोलनलाई थप प्रभावकारी बनाउने रास्वपाको निर्णय

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’ प्रकरणमा भइरहेको भ्रष्टाचार र मानव बेचबिखनको विरोधलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
  • पार्टीले संसद्मा जनताको मुद्दा उठाउने र सडकमा आन्दोलन जारी राख्ने योजना बनाएको छ।
  • रास्वपाले सत्ताधारीसँग सम्झौता नगरी जनताको मुद्दामा दृढ रहनुपर्ने विश्वास व्यक्त गरेको छ।
भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।

पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद‍्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट उठाउने निर्णय गरेको हो । बैठकमा चालु बजेट अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिएको प्रमुख सचेत सन्तोष परियारले जानकारी दिए । ‘संसद‍्मा जनताको मुद्दा स्थापित गर्न सफल भयौं,’ उनले भने, ‘राज्यले नीति बनाएर जनतालाई दु:ख दिएको मुद्दा संसद‍्मा स्थापित गर्न सफल भयौं, साथै भ्रष्टाचारका अन्य मुद्दासमेत उठान गर्‍यौं ।’

पार्टीले गरेको आन्दोलनका कारण जनता आफ्ना मुद्दा रास्वपाले छाडेन भन्ने अनुभूति गरेको उनको दाबी छ । ‘संख्याका आधारमा दम्भ देखाउने सत्ताधारीसँग रास्वपाले सम्झौता गरेन भन्ने नागरिकबाट सन्देश पाएका छौं,’ उनले भने, ‘त्यसलाई कायम राख्दै संवादको ढोका पनि खुला राखेर संसद‍्मा जारी भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय गरेका छौं ।’ साथै जनताका मुद्दा छाड्नु भनेको बेइमानी हुने निष्कर्षमा पार्टी पुगेको उनले बताए ।

‘संसद‍्मा गर्न नहुने कामका लागि संख्या होइन भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने, ‘त्यसैले कांग्रेस, एमाले र माओवादी पनि जनताको गम्भीर मुद्दामा एकमत भएर रास्वपाले उठाएका मुद्दामा सहमती कायम गर्नुहुन्छ भन्ने विश्वास छ ।’ जुन किसिमले मुलुकमा संगठित अपराध मौलाएको छ त्यसको रास्वपाले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः