विश्व मानव बेचबिखन विरोध दिवसमा रक्सौल रेलवे स्टेशनमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

रक्सौल । प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारणको आयोजनामा विश्व मानव बेचबिखन विरोध दिवसको अवसरमा रक्सौल रेलवे स्टेशनमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन रोकथाम तथा सचेतनाका लागि आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा मानव बेचबिखन विरोधी इकाईका निरीक्षक विकास कुमारले बालबालिका तथा महिलाहरू कसरी मानव तस्करीको शिकार बन्न सक्छन् भन्नेबारे विस्तृत जानकारी दिएका थिए। उनले तस्करहरूले अपनाउने रणनीति, पीडितहरूको पहिचान, तथा कानुनी र संस्थागत प्रतिकार्यबारे जानकारी दिँदै भिडभाडयुक्त स्थान—विशेषगरी रेलवे स्टेशन—मानव तस्करीका लागि अत्यन्त संवेदनशील हुने हुँदा सतर्क रहनुपर्नेमा जोड दिए।

रेलवे सुरक्षा बल, रक्सौलका सब–इन्स्पेक्टर सन्तोष कुमार मिश्रले रेल मन्त्रालयद्वारा घोषित मानव बेचबिखन विरोधी महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले स्टेशनमा यस किसिमका सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

स्टेशन प्रमुख अनिल कुमारले मानव बेचबिखन एउटा संगठित अपराध भएको उल्लेख गर्दै यसविरुद्ध सबैले मिलेर प्रयास गर्नुपर्नेमा जोड दिए। त्यस्तै, राजकीय रेल प्रहरीका प्रतिनिधिहरूले समेत मानव व्यापार रोकथाममा सतत रूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे।

स्वच्छ संस्थाका अध्यक्ष रञ्जीत सिंहले मानव व्यापारलाई गम्भीर अपराधको रूपमा व्याख्या गर्दै यसलाई अन्त्य गर्न सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने बताए।

“बाल्यकाल बेच्नेहरूलाई सजाय देऊ, निर्दोषहरूलाई नयाँ भविष्य देऊ” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता परियोजना समन्वयक आरती कुमारीले गरेकी थिइन्। कार्यक्रममा रेलवे सुरक्षा बल, राजकीय रेल प्रहरी, सशस्त्र सीमा बल, तथा मानव बेचबिखन विरोधी इकाई लगायतका निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूलाई मानव तस्करीसम्बन्धी पोस्टर, पम्प्लेट र सूचना सामग्री वितरण गरिएको थियो।
कार्यक्रममार्फत मानव बेचबिखनजस्ता अपराधविरुद्ध जनसचेतना फैलाउने तथा सामाजिक उत्तरदायित्वमा सरोकारवालाको भूमिका प्रस्ट्याउने प्रयास गरिएको आयोजक संस्थाले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः