वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको नयाँ उत्प्रेषण (रिट) मुद्दाको पेसी फेरि सरेको छ । मङ्गलवारका लागि तोकिएको पेसी अब साउन २६ गतेका लागि सरेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तील प्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा मङ्गलवारका लागि तोकिएको उक्त रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा राखिएको थियो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार विपक्षी पक्षका विभिन्न कार्यालयहरूमा सूचना नपुगेको कारण देखाउँदै यसअघि साउन १३ गतेको पेसी पनि सरेर मङ्गलवारका लागि तोकिएको थियो ।
यसअघि मेनरोड विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा छुट्टाछुट्टै रिटलाई न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते खारेज गरेको थियो । रिटहरू लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघाई, राजकुमारी देवी तुल्स्यान, भरत साह रौनियार र सुधीरकुमार वर्णवालले दायर गरेका थिए ।
मुद्दाहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सालगायतलाई विपक्षी बनाइएको थियो । लामो समयसम्म ‘हेर्दा हेर्दै’ मा रहेका मुद्दाहरूमा सर्वोच्चले सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेको थियो ।
यद्यपि, सोही विषयलाई लिएर २४ जनाले गत असार ३२ गते नयाँ उत्प्रेषण रिट दायर गरेका थिए । उक्त रिटको पेसी दोस्रो पटक सरेर साउन २६ गतेका लागि तोकिएको छ । मेनरोड विस्तारको विषयले वीरगञ्जमा लामो समयदेखि चर्चा र विवाद उत्पन्न गराउँदै आएको छ ।




