वीरगन्ज | वीरगन्ज महानगर क्षेत्रमा विद्युतीय पोलबाट सिधै हुकिङ गरेर डीप बोरिङ चलाउने प्रवृत्तिलाई रोक्न नेपाल विद्युत् प्राधिकरणले कडा कदम चाल्न थालेको छ। विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले अवैध हुकिङमार्फत सञ्चालनमा रहेका डिप बोरिङको लाइन काट्ने तयारी गरेको हो।
केन्द्रका प्रमुख अवधेश दुबेले अधिकांश डिप बोरिङ बिना मिटर, सिधै प्रसारण लाइनबाट हुकिङ गरिएको अवस्थामा फेला परेको जनाउँदै त्यसविरुद्ध अनुगमन र कारबाही सुरु हुने जानकारी दिए। “डिप बोरिङ प्राधिकरणको विपक्षमा होइन,” दुबेले भने, “तर अनुमति बिना लाइन हुकिङ गर्नु अराजकता हो, त्यसैले नियन्त्रण आवश्यक छ।”
उनका अनुसार, प्राधिकरणले अब उपभोक्ता समितिहरूलाई आवश्यक कागजात लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने निर्णय गरेको छ। आइतबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा समेत यो विषयमा छलफल भएको थियो।
“स्थानीय एफएमहरूबाट सूचनामार्फत अवैध हुकिङ नगर्न सचेत गरिसकिएको छ,” दुबेले बताए, “एक सातापछि अनुगमन सुरु गरेर नियम उल्लंघन गर्नेहरूलाई कारबाही गरिनेछ।”
२०८० सालदेखि वीरगन्जमा गर्मीमा चापाकलहरू सुक्न थालेपछि धेरै टोलहरूमा खानेपानीको अभाव हुन थालेको छ। त्यसपछि डीप बोरिङको संख्या तीव्र रूपमा बढेको हो।
तर यीमध्ये धेरैजसो बिना अनुमति सिधै पोलबाट हुकिङ गरेर सञ्चालनमा ल्याइएका छन्, जसले विद्युत् सुरक्षामा खतरा र प्राधिकरणलाई घाटा पुर्याइरहेको छ।




