सचिन तेन्दुलकरले जोय रुटलाई भारतविरुद्ध १५० रन बनाएकोमा बधाई दिए।
रुटले टेस्ट क्रिकेटमा १३ हजार २५९ रन बनाएका छन्, जसमा ३७ शतक र ६६ अर्धशतक छन्।
रुटलाई तेन्दुलकरको सर्वाधिक रनको रेकर्ड तोड्न २५१३ रन बनाउन आवश्यक छ।
काठमाडौं । विश्व क्रिकेटका लिजेन्डको रुपमा चिनिने सचिन तेन्दुलकरले इङ्गल्यान्डका जोय रुटलाई भारतविरुद्ध १५० रन बनाउँदा बधाई दिए । भारतीय क्रिकेटमा भगवानको उपमा पाएका सचिन टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
टेस्ट क्रिकेटमा नै आफ्नो रनको माइलस्टोनमा पुग्न लागेको भन्दै उनले रुटलाई बधाई दिएका हुन् । रुटले भारतविरुद्धको १५० रन बनाउँदा समग्रमा टेस्ट क्रिकेटमा उनको १३ हजार २५९ रन पुगेको छ ।
उनले २८५ पारीमा ३७ शतक र ६६ अर्धशतक पूरा गरेका छन्। सर्वाधिक रन स्कोरर तेन्दुलकरको भने टेस्ट क्रिकेटमा १५ हजार ९२१ रन रहेको छ। उनले ३२९ पारीमा ५१ शतक र ६८ अर्धशतक पूरा गरेका छन् ।
टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा रिकी पोन्टीङ छन् । उनले १३ हजार ३७८ रन बनाएका छन् ।
रुटलाई अब तेन्दुलकरको सर्वाधिक रन स्कोरको रेकर्ड तोड्ने मौका छ । अब उनले २५ सय १३ रन बनाएमा तेन्दुलकरको रेकर्ड तोडिनेछ । तर, ३४ वर्षका रुटलाई यो रन स्कोरको आकडा पार गर्न त्यति सहज भने हुने छैन ।
रुट अहिले घरेलु भूमिमा भारतसँग टेस्ट सिरिज खेलिरहेका छन् । इङ्गल्यान्डमा जारी सिरिज अन्तर्गत दोस्रो खेलको तेस्रो दिनमा घरेलु टोली १८६ रनले अघि छ । इङ्ल्यान्डले ५४४ रन बनाउँदा ७ विकेट गुमाएको छ ।




