कक्षा १२ पछि विद्यार्थीको आकर्षण आईटीतिर: काम र डिग्री सँगसँगै, यस्तो छ भर्ना प्रक्रिया र शुल्क

कक्षा १२ त सकियो। अब के पढ्ने होला?

अचेल प्रायः नेपाली विद्यार्थीको जिब्रोमै जवाफ छ- आईटी।

आईटी त पढ्ने तर कुन संकायमा? नेपालमै पढ्ने कि विदेश जाने?

यी प्रश्नको सहज उत्तर भने सबैसँग भेटिँदैन।

हो, केही वर्षयता सूचना प्रविधि (आईटी)प्रति विद्यार्थीको आकर्षण बिछट्टै बढेको छ।

विश्वभरि नै सूचना प्रविधिको तीव्र विकासका कारण एकातिर मान्छेको दैनिक जीवनको अभिन्न पक्ष आईटी बनेको छ। अर्कोतिर, आईटीमै धेरै जनशक्ति खपत भइरहेको छ। अर्थात्, सहजै रोजगारी पाउन सकिने र आफ्नो पेसागत क्षेत्रको काम स्मार्ट तरिकाले गर्न सकिने भएकाले पनि आईटी विद्यार्थीहरूको प्राथमिक रोजाइमध्ये पर्न थालेको हो।

नेपालमा १२ वटा विश्वविद्यालय सञ्चालनमा छन्। ती सबैसँग कुनै न कुनै प्रकारका आईटी कार्यक्रम छन्।

त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका आईटी कार्यक्रम बढी लोकप्रिय छन्।

ती विश्वविद्यालय र मातहतका कलेजहरूले इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकाय र तिनका कतिपय विषय आईटीसँग जोडेर पढाउँछन्।

यस्तै विदेशी विश्वविद्यालयहरूका सम्बन्धन लिएर पनि नेपालमा ५९ वटा कलेजले ७० वटा आईटी कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेका छन्। ती कलेजमा पढ्ने २८ हजार विद्यार्थीमध्ये आईटी कक्षामा मात्र १५ हजार छन्। यद्यपि, ती कलेजहरूले सम्बन्धन लिएका धेरै विदेशी विश्वविद्यालय अन्तर्राष्ट्रिय श्रेणीकरण (र्‍यांकिङ) र गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए) जस्ता मापदण्डभित्र छैनन्।

नेपालमा हाल आईटीअन्तर्गत बीएस्सी सीएसआईटी, बीसीए, बीआईटी, बीआईएमजस्ता कार्यक्रम धेरै विद्यार्थीको रोजाइमा छन्।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन बाबुराम दवाडीका अनुसार, वार्षिक २० हजारभन्दा बढी विद्यार्थी सूचना प्रविधिका स्नातक कार्यक्रममा भर्ना हुने गरेका छन्।

कक्षा १२ सकेपछि आईटी पढ्ने सोच बनाएको तर के पढ्ने, कहाँ पढ्ने, तयारी कसरी गर्ने भन्‍नेबारे विद्यार्थीहरूमा अन्योल हुने गरेको छ। कतिपय विद्यार्थी त स्नातक पढ्न थालेको एक-दुई महिनापछि मात्र आईटी भनेको यस्तो हुँदोरहेछ भन्ने महसुस भएको अनुभव पनि सुनाउँछन्।

त्यसैले सामान्यतः नेपालमा उपलब्ध आईटी कोर्स केकस्ता छन्? कति लागत पर्छ? भर्ना प्रक्रिया के छ? यी प्रश्नमा पहिला नै स्पष्ट हुनुपर्ने देखिन्छ। पहिला नै अन्योलबाट मुक्त भएर निर्णय लिन सके यसले समय र स्रोतसाधनको बचत गरिदिन्छ। अनावश्यक तनाव र पछुतो झेल्नुपर्दैन।

नेपालमा स्नातक कार्यक्रमहरू ६-६ महिनाका ८ वटा सेमेस्टर र चार वर्षीय हुने गरी बनाइएका छन्।

त्रिभुवन विश्वविद्यालयले भदौमा आईटीको प्रवेश परीक्षा लिन्छ र नतिजा पनि त्यसै महिनामा प्रकाशित भइहाल्छ।

त्यसपछि क्याम्पसहरू छान्नुपर्छ। क्याम्पस छान्दा प्रायः विद्यार्थीले प्रवेश परीक्षा दिनुअघि नै छानेर प्राथमिकताक्रममा राख्नुपर्छ। नतिजा प्रकाशित भएपछि आफूले प्राप्त गरेको अंकका आधारमा क्याम्पसमा नाम निस्किन्छ। उत्कृष्ट नतिजा ल्याउनेलाई त कलेजहरूले नै बोलाउँछन्

इन्जिनियरिङतर्फ २ कार्यक्रम
त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले आईटीसम्बन्धी दुईवटा कार्यक्रम सञ्चालन गर्छ- कम्प्युटर इन्जिनियरिङ (बीई इन कम्प्युटर इन्जिनियरिङ) र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ (बीई इन ईसीआईई)।

यी दुईसहित यस संस्थानले लिने इन्जिनियरिङका सबै कोर्सका लागि एउटै प्रवेश परीक्षा लिन्छ।

समग्रमा यसको १४० नम्बरको परीक्षा हुन्छ, जसमा गणितबाट ५०, फिजिक्सबाट ४०, केमेस्ट्रीबाट ३०, अंग्रेजीबाट २० गरी १४० अंकका प्रश्न समावेश हुन्छन्।

यस परीक्षामा नेगेटिभ मार्किङ (गल्ती भए नम्बर काटिने) पनि हुन्छ। यो चार वर्षे आठवटा सेमेस्टरको पाठ्यक्रम हो।

यस परीक्षामा मेरिटअनुसार छात्रवृत्ति पनि प्रदान गरिन्छ। पुल्चोक क्याम्पसमा पढ्ने धेरैजसो विद्यार्थीले छात्रवृत्ति पाउँछन्।

कम्प्युटर इन्जिनियरिङ
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा सिट सीमित हुन्छन्।

यो कोर्स पढाइ हुने जम्मा १४ कलेजमध्ये ४ वटा सरकारी र १० वटा निजी छन्।

आंगिकमध्ये पुल्चोक क्याम्पसमा कम्प्युटर इन्जिनियरिङअन्तर्गत नियमिततर्फ ३६ र पूर्ण शुल्कीय ६० गरी जम्मा ९६ विद्यार्थीले भर्ना पाउँछन्।

त्यस्तै पश्चिमाञ्चल क्याम्पसमा नियमित १२ र पूर्ण शुल्कीय ३६ गरी ४८ जनाले यो कोर्स पढ्न पाउँछन्।

पूर्वाञ्चलमा नियमित २४ र पूर्ण शुल्कीय ७२ गरी ९६ जनाले यस कोर्समा भर्नाको अवसर पाउँछन्।

थापाथली क्याम्पसमा नियमित १२ र पूर्ण शुल्कीय ३६ गरी ४८ जनाको कोटा रहेको छ।

समग्रमा हेर्दा आंगिक क्याम्पसहरूमा नियमितमा ८४ र पूर्ण शुल्कीयमा २०४ सिट गरेर जम्मा २८८ जनाले कम्प्युटर इन्जिनियरिङ पढ्न पाउने अवसर रहेको देखिन्छ।

त्रिविका सम्बन्धप्राप्‍त १० वटा कलेजमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुन्छ। यी कलेजहरूमा जम्मा ६२४ जना विद्यार्थीले भर्नाको अवसर पाउँछन्।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इनफरमेसन
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थाले चारवटा आंगिक र आठवटा सम्बन्धनप्राप्त कलेजमा यो कोर्स सञ्चालनको अनुमति दिएको छ।

आंगिकतर्फ, पुल्चोक क्याम्पसमा २४ नियमित र २४ पूर्ण शुल्कीय गरेर जम्मा ४८ कोटा रहेको छ।

त्यसैगरी पश्चिमाञ्‍चल, पूर्वाञ्चल र थापाथली क्याम्पस प्रत्येकमा १२ जना नियमित र ३६ पूर्ण शुल्कीय गरेर ४८ जनाका दरले कोटा छुट्याइएको छ।

गएका चार वर्षदेखि यो कोटा संख्या यथावत् छ।

चितवन इन्जिनियरिङ क्याम्पसले भने कोटा भएर पनि पढाउन सकिरहेको छैन।

समग्रमा हेर्दा आंगिक कलेजको भर्ना लक्ष्य नियमितमा ६० र पूर्ण शुल्कीयमा १३२ जनाको सिट रहेको देखिन्छ। यी सबै जोड्दा १९२ सिट  हुन्छ।

सम्बन्धनप्राप्‍त कलेजतर्फ ८ वटा कलेजमा ५२८ जनाको सिट छ।

कसरी गर्ने तयारी?
जुनैसुकै आईटीको तयारीको लागि विद्यार्थीले सम्बन्धित पुस्तक किनेर घरमै अध्ययन गर्न वा कुनै इन्स्टिच्युटमा गएर तयारी गर्न सक्छन्। इन्स्टिच्युटमा भने हरेक हप्‍ता मक टेस्ट लिने, दिनको चार घण्टा तयारी कक्षा लिने गरिन्छ। त्यसो त घरमै बसेर तयारी गर्ने र अभ्यासका लागि मक टेस्ट मात्र दिने अवसर पनि पाइन्छ।

यस वर्ष इन्जिनियरिङ अध्ययन संस्थानको फर्म साउन १३ गते बिहान १० बजेदेखि खुल्नेछ। साउन २७ गते साँझ ५ बजेसम्म आवेदन दिन पाइनेछ।

प्रवेश परीक्षा भदौ ३ गते हुनेछ।

विज्ञानतर्फ २ कार्यक्रम
त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटी र बीआईटी कार्यक्रम सञ्चालन गर्छ।

बीएससी सीएसआईटी
त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नै बीएससी सीएसआईटीका लागि प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्छ।

यो विषय पढ्न चाहने विद्यार्थीले कक्षा १२ मा अनिवार्य रूपमा विज्ञान विषय लिएर पढेको वा इन्जिनियरिङमा डिप्लोमा गरेको हुनुपर्छ। यो विषय पढ्न चाहनेले कमसेकम सबै विषयमा सी ग्रेड ल्याएको हुनुपर्छ।

यसको प्रवेश परीक्षामा फिजिक्स, केमेस्ट्री र गणितबाट २५-२५ गरेर ७५ अंकको प्रश्न आउँछ। अंग्रेजीमा १५ र आईटीसम्बन्धी सामान्य ज्ञान १० अंकको प्रश्‍न आउने गर्दछ। समग्र प्रश्‍न १०० नम्बरको हुन्छ। बहुवैकल्पिक ढाँचाको प्रश्न सोधिएको हुन्छ। दिइएको प्रश्नका धेरै उत्तरमध्ये सही एउटा उत्तरमा चिह्न लगाउनुपर्छ। उत्तर गलत भएमा नेगेटिभ मार्किङ (नम्बर काटिने) भने हुँदैन।

यस विषयका लागि त्रिविअन्तर्गतका हरेक क्याम्पसमा सीमित सिटहरू (कतै ४८, कतै ३६ सिट) हुन्छन्। त्यसैले प्रवेश परीक्षामा तीव्र प्रतिस्पर्धा हुन्छ।

सरकारी क्याम्पसहरूमा यस विषयको शुल्क साढे २ लाखदेखि ६ लाख रूपैयाँसम्म पर्छ।

त्रिवि केन्द्रीय क्याम्पसमा ३६ जनाको सिट उपलब्ध छ, जहाँ ६ जनाले छात्रवृत्तिमा पढ्न पाउँछन् भने बाँकी ३० जनाले ४ लाख २५ हजार ५०० तिर्नुपर्छ।

निजी कलेजमा कलेजअनुसार ८ लाखदेखि २० लाखसम्म शुल्क लिने गरेको पाइन्छ।

बीआईटी
यस कार्यक्रमको प्रवेश परीक्षा पनि त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नै लिन्छ।

यस कार्यक्रममा भर्ना पाउन कक्षा १२ मा कमसेकम सी ग्रेड र १.८ जीपीए हुनुपर्छ।

यस विषयको प्रवेश परीक्षा दिँदा गणितबाट ५० र अंग्रेजीबाट ५० अंकको प्रश्‍न सोधिएको हुन्छ। प्रश्‍न बहुवैकल्पिक उत्तरका साथ सोधिन्छ। यसमा पनि नेगेटिभ मार्किङ हुँदैन।

बीआईटी ८ सेमेस्टरको चार वर्षे कोर्स हो। यसको सरकारी कलेजमा २ देखि ६ लाख शुल्क लाग्छ भने निजी कलेजमा ३ देखि १२ लाख रूपैयाँसम्म लिने गरेको पाइन्छ।

मानविकीतर्फ एउटा कार्यक्रम
बीसीए

त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ एउटा मात्र आईटी कोर्स सञ्चालनमा ल्याएको छ, ब्याचलर कम्प्युटर एम्प्लिकेसन (बीसीए)। यो भर्खर चलेको नयाँ कार्यक्रमम हो।

यो जनरल आईटीमा पर्ने एप्लिकेसनको कोर्स हो।

यसको प्रवेश परीक्षा मानविकी संकायको विभागले लिन्छ। उक्त परीक्षामा अंग्रेजी व्याकरणको ४०, गणितको ५० र कम्प्‍युटर सामान्य ज्ञान १० अंकको सम्बन्धित प्रश्‍न सोधिएको हुन्छ।

बीसीए पढ्नको निम्ति १२ कक्षामा कमसेकम डी प्लस र समग्रमा १.८ जीपीए हुनुपर्छ।

बीसीए पढ्नको निम्ति सरकारी कलेजमा ३ देखि ६ लाख र निजीमा ३ देखि १५ लाख रूपैयाँ शुल्क लाग्छ।

यस कोर्सको उद्देश्य सफ्टवेयर डेभलपर उत्पादन गर्नु र समकालीन उद्योग तथा व्यवसाय क्षेत्रमा बनिसकेका प्रोगामलाई सहज तरिकाले प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्नु हो।

त्रिविले करिब १३५ कलेजलाई यस कार्यक्रमका लागि सम्बन्धन दिएको छ। यस कार्यक्रमको शुल्क सरकारीतर्फ ३ देखि ६ लाख रूपैयाँ र निजीतर्फ ३ देखि १५ लाख रूपैयाँसम्म पर्छ।

यसमा प्रवेश परीक्षा दिएकाहरूमध्ये १० प्रतिशतले ९० प्रतिशत छात्रवृत्ति प्राप्‍त गर्न सक्छन्। जसमा सरकारी विद्यालय पढ्ने, प्रवेश परीक्षामा प्रथम आउने छात्र र छात्रा अनि अपांगता भएका विद्यार्थी पर्दछन्।

व्यवस्थापनतर्फ एउटा कार्यक्रम
ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम)

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) कार्यक्रम व्यवस्थापन संकायअन्तर्गत पर्दछ। यो विषय पढ्नको निम्ति कक्षा १२ मा कमसेकम डी प्लस र समग्रमा १.८ जीपीए आएको हुनुपर्छ।

त्रिविको व्यवस्थापन संकायले प्रवेश परीक्षाका रूपमा सञ्चालन गर्ने सेन्ट्रल म्यानेजमेन्ट एडमिसन टेस्ट (सीम्याट) मार्फत विद्यार्थी छनोट गरिन्छ।

परीक्षाको पूर्णांक १०० हुन्छ।

यस कार्यक्रमको सरकारी क्याम्पसमा ३ देखि ६ लाख र निजीमा ३ देखि १५ लाख रूपैयाँसम्म शुल्क लिने गरेको पाइन्छ।

यसको पाठ्यक्रममा ८० प्रतिशत आईटीसँग सम्बन्धित विषयवस्तु राखिएको छ भने २० प्रतिशत व्यवस्थापनसँग सम्बन्धित हुन्छ।

किन पढ्ने आईटी?
मनोज बुढा मल्टिमिडिया टेक्नोलोजी अध्ययनरत छन्। यो विषय पढेर भविष्‍यमा उनलाई भिडियो प्रोडक्सनमा काम गर्न मन छ। जसमा कर्पोरेट डकुमेन्ट्री, कमर्सियल एडभर्टिजमेन्ट, सर्ट मुभी बनाउने आदि काम पर्छन्। यो काम उनले नेपालमा वा बाह्य मुलुकमा गएर पनि गर्न सक्छन्। सामान्यतः नेपालमा पेसागत हिसाबमा सुरुवाती समयमा नै ४० हजारदेखि १ लाख रूपैयाँसम्म कमाउन सकिने मनोज बताउँछन्।

सुमन ज्ञवालीलाई पहिलादेखि नै सफ्टवेयरप्रति चासो थियो। पछि गएर काम पनि सफ्टवेयरमा नै गर्ने उनको सोच छ। त्यसैले उनी बीसीए कोर्स गरिरहेका छन्। नेपालमा नै बसेर विदेशका धेरैवटा कम्पनीमा काम गर्न सक्ने विश्वास उनमा भरिएको छ। भन्छन्, ‘अब त विदेशको आम्दानी प्राप्त गर्न विदेश नै गइरहनुपर्दैन। नेपालमै बसेर कमाउन सकिन्छ।’

ज्ञवालीका अनुसार, काम गरेको एक वर्षभन्दा बढी अनुभव भएको व्यक्तिले ३५ हजारदेखि एक लाखसम्म कमाउन सक्छ। कामाइचाहिँ कम्पनीअनुसार हुन्छ। अन्तर्राष्‍ट्रिय स्तरका कम्पनी, जसले नेपालमा पनि काम गरिरहेका छन् भने धेरै कमाइ हुन्छ र नेपालकै कम्पनी अनि नेपालकै लागि काम गर्ने छन् भने अलि कम कमाइ हुन्छ।

नुरिन श्रेष्‍ठले डेटा साइन्ससम्बन्धी काम गर्ने सोचले बीएस्सी सीएसआईटी रोजेकी हुन्। ‘जुन फिल्डमा पनि अहिले आईटी चाहिन्छ नि त,’ उनी भन्छिन्।

दिन प्रतिदिन आईटीले धेरै अवसर सिर्जना गरेको छ। यसैकारण विद्यार्थीहरूको आकर्षण पनि बढ्दै गएको छ।

कामको अवसर धेरै, राम्रो आम्दानी अनि घरै वा जहाँ बसेर पनि आफ्नो दक्षताअनुसारको सेवा विश्वका जुनकुनै संस्था वा व्यक्तिका लागि दिन सकिने भएकाले पनि यसमा नयाँ पुस्ताको आकर्षण बढेको हो।

अझ कुनै पनि क्षेत्रमा काम गर्नुपर्दा आईटीको ज्ञान र दक्षता अनिवार्य सर्त भइसकेको छ। जस्तो कि डाक्टर, इन्जिनियर, शिक्षक, अनुसन्धाता, पत्रकार, व्यवस्थापक, प्रशासक, नीति निर्माता हरेकले आफ्नो ज्ञान र विशेषज्ञताको काम आईटीमार्फत नै गर्न सके मात्र अबको दुनियाँमा टिक्न सकिने भएको छ। त्यसैले विश्वविद्यालयहरूले पनि जुनसुकै संकायका पाठ्यक्रममा पनि आईटीसँग सम्बन्धित गराउन थालेका छन्।

भोलि विदेशमै गएर पढ्न पनि नेपालमा आईटी कोर्स गरेर जाँदा अध्ययन र काममा चाँडै स्थापित हुन सकिन्छ।

बानेश्वरस्थित न्यु समिट कलेजका चोकराज दवाडीका भनाइमा, आईटी पढ्ने विद्यार्थीले कम्प्युटर इन्जिनियर, क्प्युटर अपरेटरलगायत कम्प्युटरसँग सम्बन्धित काम, डाटा इन्जिनियर, डाटा एनलिस्ट आदि डाटासम्बन्धी काम, मल्टिमिडिया डिजाइनर, वेब मास्टर, डाटाबेस्ड प्रशासक, एआई इन्जिनियर, मोबाइल एप डेभलपर, साइबर सेक्युरिटी इन्जिनियर, डाटाबेस्ड म्यानेजर र अन्य धेरै अवसर प्राप्‍त गर्न सक्छ।

निजी कलेजहरूले पनि विद्यार्थीको अवस्था हेरी छात्रवृत्ति दिने गरेको र कतिपय विद्यार्थीले पढाइसँगै काम गर्दै खर्च जुटाउन पनि सक्छन्। त्यसैले धेरै विद्यार्थीले काम र डिग्री सँगसँगै हासिल गर्ने माध्यम पनि आईटी कोर्सहरू बन्न पुगेका छन्। 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः