९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक हुँदै

  • द्विपक्षीय सीमा संयन्त्रको बैठक दिल्लीमा हुने भएको छ।
  • यस बैठकमा सीमा सुरक्षा, मानव तस्करी र लागूऔषध कारोबार जस्ता विषयमा छलफल हुनेछ।
  • ‘बाउन्ड्री वर्किङ ग्रुप’ को बैठक साउन १२ मा हुनेछ र सीमांकनका विषयमा केन्द्रित हुनेछ।

नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुने तय भएको छ । उक्त बैठक ९ वर्षपछि हुन लागेको हो । गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ ।

दुई देशबीच विभिन्न तहमा रहेका संयन्त्रहरूमध्ये गृहसचिव नेतृत्वको संयन्त्र पनि छ । सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका कार्यलाई नियन्त्रण गर्न दुई देशका उच्च अधिकारीबीच छलफल र सहकार्य गर्न यो बैठक हुन लागेको हो । प्रत्येक वर्ष हुने भनिएको सचिवस्तरीय बैठक २०१६ मा दिल्लीमा भएपछि हुन सकेको थिएन । गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा सुरक्षा, सूचना आदानप्रदान, प्राकृतिक प्रकोपका साझा समस्यालगायतका विषयहरूमा बैठक केन्द्रित रहने बताए ।

नेपालबाट जाने टोलीमा गृह, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिवहरूसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रि अनुसन्धानका अतिरिक्त महानिरीक्षकहरू रहनेछन् । त्यस्तै, नापी विभाग तथा अध्यागमन विभागका महानिर्देशक पनि गृहसचिव नेतृत्वको टोलीमा रहने जनाइएको छ । गत चैतमा पोखरामा दुवै देशका गृहका सहसचिवस्तरीय बैठक भएको थियो ।

गृहसचिवस्तरीय बैठक दुई देशबीच रहँदै आएका सीमा विवाद सुल्झाउन भने केन्द्रित नहुने बुझिएको छ । तर, सीमामा हुने अतिक्रमण, सीमा स्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनालगायतका विषयमा छलफल हुने बताइएको छ । भारतद्वारा सीमा क्षेत्रमा निर्माण गरिएका विभिन्न सडकलगायतका संरचनाले गर्दा नेपालमा हुने डुबान मुख्य मुद्दा बन्दै आएको छ । त्यस्तै, विभिन्न स्थानमा भारतीय नागरिकद्वारा सीमामा भएको अतिक्रमण, लागूऔषधको कारोबार तथा मानव तस्करीलगायतका विषय नेपाली पक्षबाट उठाइने महत्त्वपूर्ण मुद्दाहरू छन् ।

भारतीय पक्षले नेपाली सीमा क्षेत्रबाट भारतमा हुन सक्ने सुरक्षा चुनौती, तेस्रो देशका नागरिकहरूको अवैध प्रवेशलाई हरेकजसो बैठकमा उठाइने गरेकाले यस बैठकमा पनि त्यसले प्राथमिकता पाउने निश्चित छ । खुला सीमाका कारण अवैध रूपमा हुने हात हतियारको कारोबार, एक देशका अपराधी अर्को देशमा लुक्ने विषयहरू पनि बैठकका मुद्दा बन्नेछन् ।

गृहसचिवस्तरीय बैठक २२ जुलाईमा सम्पन्न भएलगत्तै ‘बाउन्ड्री वर्किङ ग्रुप’ को बैठक पनि दिल्लीमा बस्ने तय भएको छ । साउन १२ (२७ जुलाई) मा उक्त बैठक बस्दै छ । दुई देशको सीमा क्षेत्रमा फिल्ड–वर्कको जिम्मेवारी पाएको उक्त समूहको बैठक सीमांकनलगायत विषयमा केन्द्रित हुने बताइएको छ । त्यसमा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतलगायतका विषयमा बढी छलफल हुने उल्लेख छ । दुई देशबीच सुस्ता र कालापानीको विवादित क्षेत्रबाहेक सीमांकन टुंगिइसकेको छ । सुस्ता र कालापानी राजनीतिक तहबाट टुंगिने भन्दै धेरै वर्षदेखि थाँती रहँदै आएको विषय हो । त्यसबाहेकका क्षेत्रमा हुनुपर्ने आवश्यक प्राविधिक कार्यहरूमा ‘बाउन्ड्री वर्किङ ग्रुप’ को बैठक बढी केन्द्रित हुने जनाइएको छ ।

६ वर्षपछि द्विपक्षीय सीमा संयन्त्रको बैठक हुँदै छ । दुवैतिरबाट यस अवधिमा देखिएका सीमासम्बन्धी विभिन्न खाले विषयहरूमाथि छलफल हुनेछ । २०१९ को अगस्टमा भारतको देहरादूनमा संयन्त्रको बैठक बसेको थियो । सीमा क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने प्राविधिक कामहरू २०२२ को अन्त्यसम्म पूरा गर्ने गरी त्यतिबेला सहमति भएको थियो । तर, कोभिड महामारीलगायतका कारणले सीमा क्षेत्रका काममा प्रगति हुन सकेन । नेपाल पक्षले संयन्त्रको बैठक गर्न लगातार कूटनीतिक प्रयास गर्दै आएको थियो । भारतले जुलाईको अन्त्यका लागि समय दिएपछि बैठक हुने निश्चित भएको हो ।

‘बाउन्ड्री वर्किङ ग्रुप’ बैठकको नेतृत्व नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नेछन् । त्यसमा परराष्ट्र, भूमि, गृह, र कानुनका अधिकारीहरू सामेल रहने छन् । गृहसचिव नेतृत्वको टोली सदस्यका रूपमा दिल्ली गएर फर्किएलगत्तै नापी विभागका महानिर्देशक टोली नेता भएर दिल्ली पुग्नेछन् । भारतका तर्फबाट भारतीय सर्वेक्षण विभागका प्रमुख हितेश कुमारले बैठकको नेतृत्व गर्नेछन् ।

दुई देशबीच सीमा क्षेत्रको प्राविधिक कार्यहरू टुंग्याउनलाई २०१४ मा बाउन्ड्री वर्किङ ग्रुप बनाइएको हो । ‘नो म्यान्स ल्यान्ड’ लाई अतिक्रमण मुक्त बनाउनु, सीमा चिह्नहरू स्थापित गर्नु, बाढीपहिरोले गर्दा पहिचान हराएको सीमा क्षेत्रको प्रविधिको प्रयोग गरेर सीमा क्षेत्रको पहिचान गर्नुलगायत कार्य यसले गर्दै आएको छ । २०१४ यता यस ग्रुपको ६ वटा बैठकहरू भएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः