- पोखरा निन्जाजले भलिबल अक्सनमा सबैभन्दा बढी ६ लाख २९ हजार ७ सय ५० रुपैयाँ खर्च गरेको छ।
- मधेश युनाइटेडले भने सबैभन्दा कम ५ लाख ८७ हजार ५ सय खर्च गरेको छ।
- दोस्रो संस्करणको लिग भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुनेछ।
नेपालको राष्ट्रिय खेल भलिबल फ्रेन्चाइज लिग संरचनामा प्रवेश गरिसकेको छ । महिला भलिबलको फ्रेन्चाइज लिग गत वर्षदेखि सुरु भएको थियो । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको नामबाट भलिबलमा फ्रेन्चाइज लिगले प्रवेश पाएको हो ।
नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रिम्सले उक्त लिग आयोजना गरेको थियो । गत वर्ष पहिलो संस्करण भएकाले खेलाडीको अक्सनविना नै लिग आयोजना गरिएको थियो । दोस्रो संस्करण आउँदो भदौ २० देखि २८ सम्म आयोजना गर्ने इन्फिनिटीको तयारी छ । त्यसका लागि शुक्रबार राजधानीमा खेलाडीको ‘अक्सन’ गरिएको थियो ।
नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन भएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द बताउँछन् । उनले भने, ‘हाम्रा लागि यो ऐतिहासिक र विशेष दिन बनेको छ । भलिबल खेलाडी पनि व्यावसायिक दायराभित्र छिरेका छन्, यसले नेपाली भलिबलको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा छ ।’
संघले इन्फिनिटीसँग महिला भलिबल लिग आयोजनाका लागि सातवर्षे सम्झौता गरेको छ । अध्यक्ष चन्दले थपे, ‘जुन भिजन राखेर सम्झौता गरेका थियौं, त्यसअनुसार लिग आयोजना हुनुले गौरवान्वित भएका छौं ।’ गत वर्ष पहिलो संस्करण काठमाडौंमा भएको थियो, यसपालि पोखरामा हुँदै छ । दोस्रो संस्करणमा साबिक विजेता कर्णाली यश्विस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाको सहभागिता रहनेछ । पहिलो संस्करणमा पनि यिनै टोली थिए ।
सबै जसो टोलीका मार्की खेलाडीले पहिलो पटक भएकाले अक्सन आफूहरूका लागि फरक अनुभव हुनुका साथै नेपाली भलिबललाई यो दिन कोसेढुंगा साबित हुने बताएका थिए । होटल सोल्टीमा गरिएको अक्सनमा ‘होम ग्राउन्ड’ टोली पोखरा निन्जाजले सबैभन्दा धेरै खर्चेको छ । न्यु डायमन्ड एकेडेमी खेलाडीकी प्रगति नाथ मार्की र रुपेशकुमार विष्ट प्रशिक्षक रहेको पोखराले अक्सनमा ६ लाख २९ हजार ७ सय ५० रुपैयाँ खर्चेको छ ।
अक्सनमा ६९ खेलाडी राखिएको थियो । उनीहरूलाई तीन श्रेणी ‘ए’, ‘बी’ र ‘सी’ मा वर्गीकरण गरिएको थियो । ‘ए’ को बेसप्राइस १ लाख १५ हजारदेखि बढीमा १ लाख ३२ हजार ५ सय राखिएको थियो । ‘बी’ को बेसप्राइस १ लाखदेखि बढीमा १ लाख १५ हजार तथा ‘सी’ को बेसप्राइस ५० हजारदेखि ५७ हजार ५ सयसम्म रहेको थियो । ‘ए’ श्रेणीमा सात खेलाडी थिए । त्यसमा ओपन हिटर आर्मीका साफिया पुन र आरती चन्द, पुलिसकी पुनम चन्द, अपोजिटर पुलिसकी कामना विष्ट, मिडल ब्लकर एपीएफकी कविता भट्ट, आर्मीकी संगम महतो र लिबेरो पुलिसकी शान्तिकला तामाङ थिए ।
अक्सनको पहिलो बोली कामना विष्टमाथि लगाइएको थियो । अधिकतम मूल्यमा उनलाई लिन लुम्बिनी, कर्णाली र ललितपुरले बोली लगाउँदा लक्की ‘ड्र’ मार्फत् लुम्बिनीले बाजी मार्यो । उनीजस्तै पुनम, संगम र साफिया पनि लक्की ‘ड्र’ बाट क्रमशः पोखरा, ललितपुर र कर्णाली टिममा पुगेका थिए ।
पुनमलाई पोखरा, ललितपुर र कर्णाली, संगमलाई मधेश र ललितपुर तथा साफियालाई मधेश र कर्णाली टिम अधिकतम मूल्य तिन तयार थिए । ब्लकर कवितालाई काठमाडौं स्पाइकर्सले पहिलो बोलीमै अधिकतम मूल्यमा लियो । आर्मीकी आरतीलाई बेसप्राइज (१ लाख १५ हजार) मा अन्तिममा मधेश युनाइटेडले लिएको हो । पहिलो राउन्डमा ‘अनसोल्ड’ भएपछि शान्तिकला स्वतः ‘बी’ मा झरिन् ।
त्यहाँ लुम्बिनी, काठमाडौं र कर्णालीले बोली लगाएकोमा लक्की ‘ड्र’ बाट लुम्बिनीले ‘बी’ को अधिकतम मूल्य १ लाख १५ हजारमा अनुबन्ध गर्यो । लुम्बिनीले मिडल ब्लकर पुलिसकी एलिसा मानन्धरलाई ‘बी’ श्रेणीबाट अधिकतम मूल्यमा ‘ड्र’ मा पाएको थियो । उनलाई लुम्बिनीसहित पोखरा, ललितपुर र मधेश अधिकतम मूल्य तिर्न तयार थिए । ओपन हिटर ईभीसीकी मीना सुनारमाथि पाँच टिम (काठमाडौं, ललितपुर, लुम्बिनी, मधेश र पोखरा) ले अधिकतम मूल्यमा बोली लगाए । तर, पोखराले लक्की ‘ड्र’ मा बाजी मार्यो ।
‘बी’ श्रेणीमा रहेका ओपन हिटर न्यु डायमन्डकी सलिना बुढामगर, अपोजिटर एपीएफकी गरिमा बोहरा र पुलिसकी लक्ष्मी चन्द, मिडल ब्लकर पुलिसका मनीषा चौधरी र कोपिला राना टिमहरूको रोजाइमा थिए । ‘बी’ मा अनसोल्ड न्यु डायमन्डकी वाल्मिकी आचार्यलाई ‘सी’ को अधिकतम मूल्य तिर्न काठमाडौं, लुम्बिनी र मधेश तयार रहे । तर लक्की ‘ड्र’ बाट उनी काठमाडौंसँग अनुबन्धित भइन् । वाल्मिकी जस्तै ‘बी’ श्रेणीका न्यु डायमन्डका लिबेरो अन्जिला प्रधान र अपोजिटर निशा महरलाई पोखराले ‘ड्र’ मार्फत ‘सी’ को अधिकतम ५७ हजार ५ सयमा अनुबन्धित गर्यो ।
अक्सनमा पोखराभन्दा पछि धेरै खर्च गर्नेमा गत वर्षको उपविजेता ललितपुर क्विन्स रह्यो । उसले ६ लाख २७ हजार २ सय ५० रुपैयाँ खर्चेको छ । लुम्बिनी र काठमाडौंले समान ६ लाख १२ हजार २ सय ५० तथा साबिक विजेता कर्णालीले ५ लाख ८९ हजार ७ सय ५० र मधेशले ५ लाख ८७ हजार ५ सय खर्चेका छन् । मार्कीबाहेक सबै टिमले समान ७ खेलाडी किनेका छन् । सबैले अब तीन विदेशी र ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्धित गर्न पाउनेछन् ।
‘अब पालो महिलाको’ भन्ने नारासहित आयोजना भएको यस भलिबल लिगसँग चर्चित कलाकारहरू पनि जोडिएका छन् । साबिक विजेता कर्णालीले अभिनेता राजेश हमाललाई टिम एम्बासडर बनाएको छ भने अभिनेत्री नीति शाह मधेश युनाइटेडसँग जोडिएकी छन् । अर्की अभिनेत्री सनिशा भट्टराई पोखराको एम्बासडर बनेकी छन् । अक्सनर अभिनेत्री शुभेच्छा खड्का रहेकी थिइन् । आयोजक इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले अक्सनको उत्साहले नेपाली भलिबललाई एउटा उचाइमा पुर्याउन प्रेरित गरेको बताइन् ।
पोखराकी मार्की खेलाडी प्रगति नाथले भलिबलको उर्वरभूमि पोखरामा फ्रेन्चाइज लिग खेल्न पाउनुले थप उत्साह बढिरहेको बताइन् । उनले भनिन्, ‘पोखरामा गेम हुँदै छ । टिमको नेतृत्व गर्ने मौका पाएको छु, सबैको साथ र सहयोगले होम ग्राउन्डमा टिम च्याम्पियन बन्ने लक्ष्य छ ।’
कर्णाली यश्विस
मार्की खेलाडी– सुमित्रा रेग्मी
प्रशिक्षक – कुमार राई
ललितपुर क्विन्स
मार्की खेलाडी – सलिना श्रेष्ठ
प्रशिक्षक – उत्सव खड्का
पोखरा निन्जाज
मार्की खेलाडी– प्रगति नाथ
प्रशिक्षक– रुपेशकुमार विष्ट
काठमाडौं स्पाइकर्स
मार्की खेलाडी– उषा भण्डारी
प्रशिक्षक – लोकेश बुढा
लुम्बिनी लाभा
मार्की खेलाडी – अरुणा शाही
प्रशिक्षक – भरत यादव
मधेश युनाइटेड
मार्की खेलाडी – निरुता ठगुन्ना
प्रशिक्षक – कोपिला उप्रेती




