नेपालमा इन्टरनेटको पहुँच बढेसँगै बालबालिका विभिन्न किसिमका अनलाइन जोखिममा पर्ने गरेको पाइएको छ । हालै सार्वजनिक भएको ‘इन्हान्सिङ प्यारेन्टल रोल्स इन प्रोटेक्टिङ चिल्ड्रेन फ्रम अनलाइन सेक्सुअल एक्स्प्लोइटेसन एन्ड अब्युज इन नेपाल’ शीर्षकको अध्ययन प्रतिवेदनले बालबालिकाको डिजिटल पहुँचसँग सम्बद्ध केही गम्भीर प्रवृत्ति औंल्याएको छ ।
बाल अधिकारका पक्षमा काम गर्ने, चायल्ड सेफनेटद्वारा प्रकाशित अध्ययनअनुसार ९ सय अभिभावक र बालबालिकामाझ गरिएको सर्वेक्षणमा ४५ प्रतिशत बालबालिकाले निजी डिजिटल डिभाइस बोक्ने गरेको देखिएको छ ।
३४ प्रतिशत बालबालिकाले आफ्नै सामाजिक सञ्जाल एकाउन्ट प्रयोग गर्ने र २९ प्रतिशतले विशेषगरी आमा र अन्य पारिवारिक सदस्यको खातामार्फत अनलाइनमा पहुँच बनाउने गरेको पाइएको छ । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो वास्तविक उमेरभन्दा बढी देखाएर एकाउन्ट खोल्ने गरेको अध्ययनले औंल्याएको छ ।
‘सर्वेक्षणमा सहभागी १३ वर्षभन्दा कम उमेरका ५९ जना बालबालिकाले आफ्नै सामाजिक सञ्जाल एकाउन्ट बनाएका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा उनीहरूका अभिभावकको कुनै रेखदेख पनि थिएन । प्रायः अभिभावकलाई आफ्ना बालबालिकाले अनलाइनमा के गर्छन् वा उनीहरूका एकभन्दा धेरै एकाउन्ट रहेको विषयमा कुनै जानकारी थिएन । जुवा, यौन सामग्रीजस्ता क्रियाकलापमा सहज पहुँचका कारण बालबालिकाहरू अनलाइनमा उच्च जोखिममा छन् ।’ प्रतिवेदनमा व्यक्तिगत डिभाइससँगै सामाजिक सञ्जालमा बालबालिकाको पहुँच, अभिभावकीय निगरानीको कमी र ग्रुमिङजस्ता अनलाइन समस्याबारे विश्लेषण गरिएको छ ।
बालबालिकाहरूले सामाजिक सञ्जालमा आफ्ना धेरै वटा खाता बनाउनेदेखि अभिभावकको पहुँचभन्दा बाहिरका एप र प्लाटफर्म प्रयोग गर्नेजस्ता प्रवृत्तिलाई अध्ययनले उजागर गरेको छ । कतिपय अभिभावकले आफ्ना छोराछोरीले अनलाइनमा के–के गरिरहेका छन् भन्ने थाहा नभएको वा बुझ्नै नसकेको प्रतिक्रिया दिएका छन् । यस अज्ञानताका कारण बालबालिकाहरू यौनजन्य दुर्व्यवहार, अनलाइन ग्रुमिङ, हिंसात्मक वा अश्लील सामग्री हेर्नेजस्ता समस्यामा फस्ने जोखिम बढेको अध्ययनले औंल्याएको छ ।
सर्वेक्षणमा सहभागी अभिभावकमध्ये ८५ प्रतिशतले अनलाइनबाट हुन सक्ने यौन हिंसाजस्ता विषयमा कहिल्यै आफ्ना छोराछोरीसँग कुराकानी नगरेको प्रतिक्रिया दिएका छन् । सानो उमेरका छोराछोरीसँग यस्तो विषयमा कुरा गर्न उपयुक्त नलाग्ने, त्यस्ता संवेदनशील विषयमा कुरा गर्ने उचित तरिका थाहा नभएको र संकोच लाग्ने र यो विद्यालयले नै पढाउनुपर्ने विषय भएको उनीहरूको जवाफ छ । कतिपय अभिभावकले आफ्ना छोराछोरी अनलाइनमा दुर्व्यवहारमा परेको कुरा बालबालिकाले लुकाएको समेत बताएका छन् ।
अर्को गम्भीर पक्ष भनेको सर्वेक्षणमा भाग लिएका ८३ प्रतिशत अभिभावकले आफ्ना छोराछोरी अनलाइनमार्फत हुने यौन दुर्व्यवहारमा परेर आत्महत्या गर्न सक्ने डर व्यक्त गरेका छन् । तर पनि अभिभावकले आफ्ना बालबालिकाको अनलाइन क्रियाकलापलाई लिएर पर्याप्त सतर्कता अपनाएको देखिँदैन । अध्ययनअनुसार ७३ प्रतिशत अभिभावकले कुनै पनि किसिमको ‘प्यारेन्टल कन्ट्रोल’ टुल प्रयोग गर्ने गरेका छैनन् ।
अभिभावकको डिजिटल साक्षरताको अवस्था पनि निकै कमजोर रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ९८ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने भए पनि फेसबुक, टिकटक वा युट्युबजस्ता सामाजिक सञ्जालमै सीमित रहेको अध्ययनमा उल्लेख छ । विशेषगरी आर्थिक रूपमा कमजोर र पढाइ कम भएका अभिभावकसँगै एकल अभिभावकले आफ्नो सामाजिक सञ्जाल खाता आफैंले नखोली बच्चा वा श्रीमान्/श्रीमतीले खोलेको, पासवर्ड थाहा नभएको वा प्रयोगमा असहज महसुस हुने बताएका छन् ।
सर्वेक्षणमा समावेश कतिपय बालबालिकाले भने अनलाइनमा आफूलाई बढी सुरक्षित महसुस गर्ने गरेको प्रतिक्रिया दिएका छन् । यौनिक अल्पसंख्यक पहिचान भएका बालबालिकाले अभिभावकबाट विभेद र अपमान झेल्नुपर्ने भएकाले आफ्ना अनलाइन गतिविधिबारे जानकारी दिन नचाहेको बताएका छन् । उनीहरूका लागि सामाजिक सञ्जाल आफूलाई अभिव्यक्त गर्ने, साथीसँग जोडिने, र भावनात्मक समर्थन पाउने माध्यम भएको पाइएको छ ।
अभिभावकहरूले इन्टरनेट र डिजिटल उपकरण प्रयोग गर्ने आफ्नै बानीले पनि बालबालिकाको इन्टरनेट प्रयोगमा प्रभाव पार्ने गरेको अध्ययनले देखाएको छ । अभिभावकहरू जति धेरै समय अनलाइन बिताउँछन्, उति नै बच्चाहरूले पनि स्क्रिनमा समय बिताउने गरेको पाइएको हो ।
शिक्षक, नीति निर्माता, सुरक्षाकर्मी, प्रविधि कम्पनी र अभिभावकबीच समन्वय गरी बालबालिकाको डिजिटल सुरक्षाका लागि थप ठोस कदम चाल्नुपर्ने अध्ययनको सुझाव छ । अहिलेको अवस्थामा अभिभावकले अनलाइन संसारमा पनि आफ्ना बालबालिकाको अभिभावकत्व सम्हाल्न आवश्यक भएको यसको निष्कर्ष छ ।
अध्ययनले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी विद्यमान कानुनको समीक्षा गर्न, अनलाइन दुर्व्यवहार र शोषणको रिपोर्ट गर्न सहज, पहुँचयोग्य र बालबालिकामैत्री संयन्त्र बनाउन र सामाजिक सञ्जाल प्लाटफर्मलाई ‘एज भेरिफिकेसन’ प्रभावकारी बनाउन सुझाएको छ ।




