
- ‘पिपुल च्वाइस अवार्ड’ का लागि शुक्रबारसम्म भोटिङ खुला, शनिबार अवार्ड वितरण समारोह
काठमाडौँ — संगीतका १४ विधामा मनोनयन, सबैमा उच्च प्रतिस्पर्धा । त्यसमाथि यो वर्ष थपिएको हिपअप र आर एन्ड बी विधा । यही कारण दर्शकका साथै मनोनीत सबै ‘नेसनल म्युजिक अवार्ड्स (एनएमए) २०८१’ को व्यग्र पर्खाइमा छन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आगामी शनिबार आयोजना गर्ने समारोहमा अवार्ड वितरण हुँदै छ ।
‘पिपुल च्वाइस अवार्ड’ मै यो वर्ष प्रतिस्पर्धा कडा देखिएको छ । यस विधामा निकै चलेका गीत र स्रष्टा समेटिएका छन् । ‘कुमः सागर एन्ड द ख्वप ब्यान्ड’ को ‘ए माई रे’ लाई दर्शकले निकै रुचाए । युट्युबमा १ करोड ७५ लाखभन्दा बढीले हेरेको यस गीतको ‘हावाको लहरसँगै’ भन्ने अन्तरा त सामाजिक सञ्जालमा ‘भाइरल’ नै बन्यो । अब यही गीतसँग सुशान्त केसी र इन्द्रकला राईको स्वरमा बजार पिटेको ‘बार्दली’ प्रतिस्पर्धामा छ ।
‘बार्दली’ को लोकप्रियता हेर्न कतै नगए हुन्छ, यही गीतमाथि बनेको ‘टी–सिरिज’ को हिन्दी रिमेक सुने हुन्छ । ९ करोड ३९ लाखभन्दा बढी दर्शकले युट्युबमा हेरेको यस गीतको पनि अन्तरा दर्शकको मुखैमा झुन्डिएको छ । यस गीतमाथि फ्यानले महिनौंसम्म भिडियो, रिल्स र टिकटक बनाए ।
दुर्गेश थापाको ‘दुश्मन’ को चर्चा त गरिरहनै परेन । ‘पिपुल्स च्वाइस अवार्ड’ मा कुमः र सुशान्तसँगको प्रतिस्पर्धामा दुर्गेश यही गीतमार्फत मनोनीत भएका हुन् । १० करोडभन्दा बढीले युट्युबमा हेरेको यो गीत सार्वजनिक भएपछि दुर्गेशले मेला, कन्सर्ट गरेर एक महिनामै ३०/३५ वटासम्म सो भ्याए । ‘दुश्मन हेरेको हेर्यै’ भन्ने शब्दावली त अहिलेसम्म पनि हिट छ ।
यही विधामा मनोनीत अर्को गीत हो, ‘म त ढलें ढलें’ । ९ करोडभन्दा बढीले युट्युबमा हेरेको ‘म त ढलें ढलें’ बोलको गीत सार्वजनिक भएदेखि नै हरेक भोज/उत्सवमा गुन्जिन थालेको थियो । यो गीत शान्ता रानी परियारले गाएकी हुन् । १३ करोडभन्दा बढीले युट्युबमा हेरेको नेपाली फिल्म ‘खुस्मा’ को ‘रुकुम मैकोट’ पनि यही विधामा प्रतिस्पर्धाका लागि छनोट भएको छ ।
शान्तिश्री परियार र एसडी योगीको आवाज रहेको यस गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् । खासमा यो गीतले फिल्मभन्दा पनि धेरै चर्चा पाएको थियो । कसले जित्ला त अवार्ड ? त्यो भने दर्शकको हातमा छ ।
यस विधामा मनोनीतहरूमध्ये कसलाई जिताउने भन्ने निर्णय दर्शकले दिएको भोटबाट हुनेछ । आयोजकले भोटिङ खुला गरिसकेको छ । दर्शकले मनपर्ने गीतलाई इसेवामार्फत भोट गर्न पाउनेछन् । ‘भोटिङ खुला गरेको एक साता भयो, शुक्रबारसम्म फ्यानले भोट गर्न पाउनेछन्,’ रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले भने ।
एनएमएका अन्य विधामा उत्तिकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । जस्तै– पप विधा । पप विधा आफैंमा लोकप्रिय संगीत हो । एनएमएले सधैं ‘उत्कृष्ट पप गायक’ र ‘उत्कृष्ट पप गायिका’ लाई अवार्ड वितण गर्दै आएको छ । ‘उत्कृष्ट पप गायक’ तर्फ सुशान्त केसी, सुजन चापागाईं, सज्जनराज वैद्य, जोन चाम्लिङ राई र स्वप्न सुमन मनोनयनमा छन् । उनीहरूका गीत उत्तिकै चर्चित छन् । सुशान्तको ‘बार्दली’ रमाइलो शैलीको गीत भइहाल्यो । सुजनको ‘एक्लै भए नि’ वियोगान्त छ, जोनको ‘फर्कन्न होला’ उस्तै लोकप्रिय छ, युवामा । स्वप्नको ‘तिम्रो बोलीमा’ र सज्जनको ‘एकादेशमा’ पनि उत्तिकै रुचाइएका गीत हुन् ।
पप गायिकातर्फ पनि गर्मी बढाउने प्रतिस्पर्धा छ । ‘आधा’ बाट आस्था तामाङ मास्के, ‘असम्भव’ बाट रचना दाहाल, ‘बीच भाइभ्स’ बाट त्रिशला गुरुङ, ‘बुझ्छु तिमीलाई’ बाट समृद्धि राई अनि ‘साथी तिमी मेरो’ बाट सज्जा चौलागाईं यस विधामा प्रतिस्पर्धाका लागि मनोनयनमा परेका छन् ।
‘उत्कृष्ट ब्यान्ड’ कै विधामा पनि होडबाजी रोचक छ । ब्यान्डतर्फ कुमःको ‘ए माई रे’ छनोटमा परेको छ । यस विधामा स्वर र जोन चाम्लिङ राई, रकहेड्स, अभया एन्ड दी स्टिभ इन्जिन्स अनि पूर्ण राई एन्ड दाजुभाइहरू प्रतिस्पर्धामा छन् । स्वर र जोन चाम्लिङ राईको ‘बादल सरी’, रकहेड्सको ‘भावना’, अभयाको ब्यान्डबाट ‘सधैंभरी’ अनि पूर्ण राई एन्ड दाजुभाइहरूको ‘स्पर्श संगीत’ मनोनयनमा परेका गीत हुन् ।
फिल्मको पार्श्व संगीततर्फ पनि चर्को प्रतिस्पर्धा छ । ‘उत्कृष्ट पार्श्व गायक’ तर्फ फिल्म ‘फर्कीफर्की’ बाट शीर्ष गीतले गायक रोमन बज्राचार्यलाई मनोनयनमा पारेको छ । रोमनसँगै प्रतिस्पर्धामा छन्, सनुप पौडेल, आशिष अविरल, एसडी योगी अनि निशान भट्टराई । सनुप पौडेल ‘मनसरा’ को ‘झ्यालको’ भन्ने गीतले मनोनयनमा परेका हुन् भने आशिष अविरल ‘म त फ्यान भएँ’ भन्ने ‘पीताम्बर’ को गीतले प्रतिस्पर्धामा छन् ।
त्यस्तै, ‘खुस्मा’ को ‘रुकुम मैकोट’ बाट एसडी योगी मनोनीत छन् । ‘छक्का पञ्जा ५’ को ‘यो माया बनाउने को हो’ गीतबाट भने निशान भट्टराई यस विधामा छनोट भएका हुन् । यो गीतलाई कृष्णहरि बरालले लेखेका हुन् ।
समीक्षा अधिकारी, झुमा लिम्बू, सुनिता थेगिम, शान्तिश्री परियार र सलिना बिक ‘उत्कृष्ट पार्श्व गायिका’ मा प्रतिस्पर्धी छन् । ‘बोक्सीको घर’ बाट ‘बुझिनँ मैले’ ले समीक्षा यस विधामा छनोट भएकी हुन् भने झुमा लिम्बू ‘मनसरा’ को ‘झ्यालको’ बाट । त्यस्तै, ‘गाउँ आएको बाटो’ को ‘राई माइला’ बोलको गीतबाट सुनिता थेगिम मनोनयमा परेकी छन् ।
‘रुकुम मैकोट’ बाट शान्तिश्री परियारले ‘सारी लगाइदेऊ’ गीतबाट मनोनयनमा परेकी सलिना बिकलगायतसँग यो विधामा अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । ‘उत्कृष्ट लोकदोहोरी गायिका’ तर्फ रिता थापामगर, अञ्जु विश्वकर्मा, पूर्णकला बीसी, देवी घर्ती र शान्तिश्री परियार मनोनयनमा छन् । ‘उत्कृष्ट लोकदोहोरी गायक’ तर्फ शिरीष देवकोटा, मौसम गुरुङ, खेम सेन्चुरी, प्रकाश दुतराज अनि विश्व दोङ मनोनीत छन् ।




