वीरगञ्ज । सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो इलिमिनेटर खेलमा जनकपुर बोल्टसलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।
टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको थियो । १८.३ ओभरमै जम्मा दुई विकेटको क्षतिमा सुदुरपश्चिमले लक्ष्य पूरा गरेको हो । सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धशतक पूरा गर्दै अविजित रहे ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।
नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए । यस खेलको विजेता टोली पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाउँने छ । पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउँनेछ ।
बिहीवार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र यस खेलको पराजित टोलीले खेल्नेछन् । दोस्रो क्वालिफायर खेल बिहीवार हुनेछ । दोस्रो क्वालिफायरको विजेता र यस खेलको विजेता उपाधीका लागि खेल्नेछन् ।