‘काँटा लगा’ फेम्ड अभिनेत्री शेफाली जरीवालाको हृदयघातका कारण निधन

मुम्बई, असार १४ – चर्चित भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको हृदयघातका कारण ४२ वर्षको उमेरमा निधन भएको छ। ‘बिग बोस १३’ बाट थप चर्चा कमाएकी जरीवालाको शुक्रबार राति मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शेफालीलाई स्वास्थ्यमा अचानक समस्या आएपछि उनका पति अभिनेता पराग त्यागीले उनलाई तुरुन्त अस्पताल लगेका थिए। तर चिकित्सकहरूले अस्पताल पुर्‍याइएपछि उनलाई मृत घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमको लागि राति १२:३० बजे मुम्बईको कूपर अस्पताल लगिएको बताइएको छ।

उनको अंधेरीस्थित घरमा मुम्बई प्रहरी रातिको समयमा अनुसन्धान गर्न पुगेको थियो। साथै घटनास्थलमा फोरेन्सिक टोली पनि खटाइएको थियो। घरभित्र केही शंकास्पद वस्तुहरू फेला पार्ने प्रयास भइरहेको छ। यद्यपि मृत्युको कारणबारे कुनै आधिकारिक बयान आएको छैन, प्रहरी र फोरेन्सिकको सक्रियताले घटनालाई केही शंकास्पद बनाएको देखिन्छ।

शेफाली अन्तिम पटक सन् २०२४ मा टेलिभिजन शो ‘शैतानी रश्मे’ मा देखिएकी थिइन्। सन् २००२ मा सार्वजनिक भएको म्युजिक भिडियो ‘काँटा लगा’ बाट उनी चर्चामा आएकी थिइन्। त्यसपछि ‘मुझसे शादी करोगी’, ‘बेबी कम ना’ लगायत थुप्रै फिल्म र वेब सिरिजमा अभिनय गरेकी थिइन्। उनले ‘नच बलिए’ र ‘बुगी वुगी’जस्ता नृत्य प्रतियोगितामा पनि भाग लिएकी थिइन्।

शेफालीको वैवाहिक जीवन पनि चर्चामा रहँदै आएको थियो। सन् २००४ मा संगीतकार हरमीत सिंहसँग विवाह गरेकी उनले सन् २००९ मा सम्बन्धविच्छेद गरेकी थिइन्। त्यसपछि सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।

भारतीय मनोरञ्जन क्षेत्रमा उनको योगदान स्मरणीय रहनेछ। उनको असामयिक निधनप्रति चलचित्रकर्मी, प्रशंसक तथा कलाकारहरूद्वारा गहिरो दुःख व्यक्त गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः