
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासरसँग नयाँ दुईवर्षे सम्झौता गरेका छन्, जसले उनलाई ४२ वर्षको उमेरसम्म क्लबमा राख्नेछ । ४० वर्षीय रोनाल्डो सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर रियादस्थित टोलीमा आबद्ध भएका थिए ।
रोनाल्डोको अल-नासरसँगको सम्झौता जुनको अन्त्यमा सकिँदै थियो र उनले क्लब छाड्ने अटकलहरू चलेका थिए, तर यो नयाँ सम्झौताले ती अटकलहरूमा पूर्ण विराम लागेको छ ।
सम्झौता नविकरणपछि रोनाल्डोले एक्समा लेखेका छन्, “नयाँ अध्याय सुरु भएको छ । उही जोश, उही सपना । सँगै इतिहास बनाऔँ ।”
अल-नासरले रोनाल्डोको आगमनपछि घरेलु उपाधि जित्न सकेको छैन, तर पाँचपटकको बलोन डी’ओर विजेताले गोलको बाढी ल्याएका छन् । गत सिजन उनले ४१ खेलमा ३५ गोल गरे र लगातार दोस्रो सिजन साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बने । उनले अल-नासरका लागि १११ खेलमा ९९ गोल गरेका छन् । हाल उनको क्लब र देशका लागि कुल ९३८ गोल छ ।
दुई हप्ता अघि युइएफए नेसन्स लिग जित्न सहयोग गरेका रोनाल्डोले अब अर्को ग्रीष्मकालमा छैटौँ विश्वकप खेल्ने लक्ष्य राखेका छन् ।
एक महिना अघि रोनाल्डोले सामाजिक सञ्जालमा “अध्याय सकियो” भनेर पोस्ट गरेका थिए । साउदी प्रो लिगमा अल-नासर तेस्रो स्थानमा रहँदै ट्रफीविहीन भएको थियो । यो पोस्टले उनले साउदी लिग छाड्ने हल्ला चलेको थियो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल-नासर क्लब विश्वकपमा छनोट नभएपछि रोनाल्डोलाई क्लब विश्वकप खेल्ने टोलीमा सामेल हुने सम्भावना उठाएका थिए । रोनाल्डोले यस्ता प्रस्ताव आए पनि अस्वीकार गरेको बताएका थिए ।
सन् २०२७ सम्म बस्ने निर्णय, जुन निश्चित रूपमा आर्थिक रूपमा आकर्षक छ,ले उनको युरोपको उच्चस्तरीय फुटबलमा फर्कने सम्भावनालाई लगभग समाप्त गरेको छ ।




