
वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि दौडमा रहेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच मङ्गलवार पहिलो क्वालिफायर खेलमा प्रतिस्पर्धा हुने भएको छ । दुई टोली दिउँसो १ बजे कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भिड्दै छन् । खेलको विजेताले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीलाई फाइनल पुग्न अर्को मौका हुनेछ ।
लिग चरणको उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएका दुवै टोली अहिले पनि उत्कृष्ट लयमा छन् । सुदूरपश्चिमले लिगका सातमध्ये छ खेल जितेर १२ अङ्कसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो । जनकपुरले पाँच खेलमा जित निकाल्दै १० अङ्क जोडेर दोस्रो स्थानमा रह्यो ।
दुई टोलीबिच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई मात्र ५१ रनमा समेट्दै १२४ रनको लक्ष्य पनि सजिलै जोगाएको थियो । चितवन राइनोजसँग ३३ रनले पराजित भएको खेलबाहेक सुदूरपश्चिमले अन्य सबै खेल जितेको छ । विराटनगरलाई ९० रनले, काठमाडौँलाई ७३ रनले, लुम्बिनीलाई ३३ रनले पराजित गरेको सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र कर्णालीलाई ६ विकेटले हराएको थियो ।
जनकपुरले पनि सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर र कर्णालीलाई समान ८ विकेटले पराजित गरेको थियो । त्यस्तै, लुम्बिनीलाई १ रनको झिनो अन्तरले र काठमाडौँलाई ५ विकेटले हराएको जनकपुरले चितवन र सुदूरपश्चिमसँग भने हार बेहोरेको थियो ।
जनकपुरका कप्तान अनिलकुमार साह चोटका कारण आजको खेल गुमाउने सम्भावना रहे पनि टोलीका अन्य खेलाडी उत्कृष्ट लयमा छन् । अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली बलियो देखिएको छ ।
जनकपुर बोल्ट्स टोलीमा आशीफ शेख, अनिलकुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), लाहिरु मिलन्था (अमेरिका) र हर्ष थकर (क्यानडा) रहेका छन् ।
सुदूरपश्चिम रोयल्स टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोजराज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इंग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड) र ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड) रहेका छन् ।
अब, पहिलो क्वालिफायरमा कुन टोलीले जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गर्नेछ भन्ने उत्सुकतापूर्वक पर्खाइ भइरहेको छ ।




