बारा: अशोक स्टिल उद्योगमा ग्यास पाइप फुस्किँदा मजदुर घाइते

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको अशोक स्टिल उद्योगमा कार्यरत एक मजदुर घाइते भएका छन् ।

शुक्रवार नियमित कामका क्रममा उद्योगमा कार्यरत २० वर्षीय स्थानीय अनिल पासवान ग्यास पाइप फुत्किएर पोल्दा जलेर घाइते भएका हुन् ।

घटनाका क्रममा ग्यास पाइप अचानक फुस्किँदा पासवानको अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको बताइएको छ । उनलाई तत्कालै सिमरास्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद जोशीका अनुसार घाइतेको अवस्था सामान्य छ र चिकित्सकीय उपचार जारी रहेको जानकारी दिएका छन् । जोशीका अनुसार परिवारले पनि शरीरको केही भागमा मात्रै जलन भएको पुष्टि गरेका छन् ।

घटनापछि  जितपुरसिमरा – ५ वडाध्यक्ष दीपेन्द्र चौधरी अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । अध्यक्ष चौधरीले घाइतेको अवस्था गम्भीर नरहेको बताउँदै आवश्यक सहयोगका लागि स्थानीय तहबाट पहल भइरहेको जनाएका छन् ।

घटनाको थप अनुसन्धान तथा सुरक्षाका उपायहरूमा पनि स्थानीय प्रशासन र उद्योग व्यवस्थापन संवेदनशील बन्नुपर्ने स्थानीयको माग रहेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः