
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लामा भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको विशेष टोलीले साहलाई वीरगञ्जको प्रगतिनगरस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई पोखरिया नगरपालिकामा विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार तथा सेवाग्राहीहरूसँग अनाधिकृत रूपमा आर्थिक लेनदेन गरेको आरोपमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
साहलाई पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानका विश्वासपात्र मानिने गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले नगरपालिकाअन्तर्गतका योजना, ठेक्का र आपूर्ति प्रक्रियामा अनियमितता गरेको र घुस लिने कार्यमा संलग्न रहेको प्रमाण फेला परेको अख्तियार स्रोतले जनाएको छ।
यससँगै अख्तियारले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान जारी राखेको र दोषीलाई कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ। आयोगले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति लिएको भन्दै कुनै पनि भ्रष्टाचारजन्य गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ।
पछिल्ला दिनमा पर्सा जिल्लामा सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचार विरुद्धको कारबाहीलाई तीव्रता दिइएको भन्दै आम नागरिकले अख्तियारको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्।




