विराटनगरमा ‘मन्टु’ को मिटरब्याज आतंक

विराटनगर– सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरमा ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन् ।

उनीहरूका अनुसार मन्टुले जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

पीडितहरुका अनुसार उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारवाहीको डर देखाएर मानसिक दवाव दिने तथा प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन् । यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

सुनवर्षी नगरपालिका–४ निवासी अमितकुमार यादवका अनुसार जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेपछि उजुरी दिनु परेको हो । उनले हुलाकमार्फत् पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन् । ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भनेका छन् ।

पीडितको उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ । उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्य–तथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्छन्– ‘सर्वसाधारणको गुनासो आएपछि दुबै पक्षलाई छलफलमा बोलाएका छौं । छलफलपछि सत्य–तथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं ।’

प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा ‘अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी उजुरीमा विपक्षी बनाइएका सञ्जयप्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ ।

मिटरब्याज पीडित १७ जनाको उजुरीपछि २०७७ मंसिर २९ गते मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो ।

२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ठगी तथा आपराधिक लाभ दायर भए । प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए ।

त्यतिबेला मन्टु कारागार चलान भएका थिए । २०७९ जेठ ९ गते फैसला हुँदा मन्टुले सफाइ पाएका थिए ।

जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत् पत्र पठाएर पुनः पैसा माग्न थालेका थिए । ती पत्रमा ‘फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेकोले’ तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ ।

यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिएका हुन् । उजुरीकर्ताहरूको भनाइमा मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोन र बीचमा तेस्रो व्यक्ति खटाएर दवाव दिने गर्थे ।

पीडितमध्येका एक अमित भन्छन्– ‘मन्टु जेलबाट छुटे पनि उनको प्रवृत्ति उस्तै छ । उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछन् । हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः