४असारःबारामा पुरानो रिसबीका कारण ५० वर्षीय एक पुरुषलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले एकमहिलासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनका २८ वर्षीय दिगम्बर साह कलवार , उमेश जयसवालकी पत्नि ३८ वर्षीया रञ्जु जयसवाल, छोराहरु २० वर्षीय सुमित र १८ वर्षीय सुजित जयसवाल रहेका छन्।
प्रहरीका अनुसार, गत जेठ २९ गतेका दिन साँझ ६.१५बजे तिर बघवनकै ५० वर्षी नन्दु राउत कुर्मीलाई पुरानो रिसबीका कारण स्थानीय उमेश जयसवालसहित ६ जनाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते कुर्मीलाई उपचारका लागि कलैयास्थित प्रादेशीक अस्पतालमा लगिएको थियो । त्यहि उपचारका उनको बेलुकी ७.२० बजे मृत्यु भएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले बघवनस्थित घटनास्थलमा पुगेर कुटपिटमा संलग्न दिगम्बरलाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न अन्य व्याक्तिहरुको खोजी गर्ने क्रममा प्रहरीले कलैया–५ स्थित सागर लामिछानेको घरमा लुकेर बसेका उमेशकी पत्नि रञ्जुलाई र पर्साको वीरगन्ज महानगरपालिका –१ शान्ती टोलस्थित बसिर मियाँको घरमा लुकेर बसेका उनका दुई छोराहरु सुमित र सुजितलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनामा संलग्न उमेशसहितका दुई जना व्याक्तिहरु फरार रहेकाले उनिहरुकोपनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




