१५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फाल्ने शिक्षकलाई जन्मकैद

५ असार :  गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा बालिका बलात्कारपछि हत्यामा संलग्न बाँके खजुरा गाउँपालिका-४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जीवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ ।

खाँले २०७९ साल कात्तिक १६ गते स्थानीय १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेका थिए । घटनाको एक दिनपछि, कात्तिक १७ गते, ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा भेटिएको थियो । त्यसपछि स्थानीयवासीले बलात्कारपछि हत्या गरिएको आशंका गर्दै प्रदर्शन तथा विरोध गरेका थिए ।

बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन् । घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो । अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ । यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) को आधारमा गरिएको हो । त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम गरिएको हो ।

अदालतका श्रेष्तेदार सुदर्शन खनालका अनुसार, बलात्कार गरी कर्तव्य ज्यान गरेमा जीवित रहेसम्म जन्मकैद हुने व्यवस्था संहिताको दफा ४१ मा उल्लेख गरिएको छ। त्यस्तै, त्रासदीपूर्ण र निर्मम हत्या, जातिहत्या, वायुयान अपहरण, विष खुवाएर हत्या जस्ता अपराधमा पनि यही व्यवस्था लागू हुन्छ ।

दफा २२८ र १८६ अनुसार पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ । फैसलापछि पीडित परिवारसहित शान्तिपुरका स्थानीयवासीले राहत महसुस गरेका छन् । घटनामा संलग्न व्यक्ति नै स्थानीय विद्यालयमा अध्यापन गरिरहेका खाँ रहेको खुलासा भएपछि स्थानीय थप त्रसित बनेका थिए । बाँकेबाट त्यहाँको मदरसामा पढाउन गएका उनी जघन्य अपराधमा जोडिएपछि कारबाहीका लागि स्थानीयले साथ दिएका हुन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः