आलमको मुद्दामा इजलास छल्न सरकारी वकिलले नै ४ पटक स्थगित गराएका थिए सुनुवाइ

  • सफाइ पाएका आलम गाउँ फर्किए, मृतकका पिता न्याय परिषद्को ढोका ढकढकाउन काठमाडौं आए

काठमाडौं, रौतहट — बम विस्फोटका घाइते दुई युवालाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा रौतहट अदालतबाट जन्मकैद सजाय पाएका पूर्वमन्त्री आफताब आलमको मुद्दामा १० पटकसम्म पेसी सरेको पाइएको छ । पहिलो पेसीमा प्रत्यर्थी झिकाउने आदेश भएको थियो भने त्यसपछिका लगातार १० सुनुवाइ स्थगित वा हेर्न नमिल्नेमा परेका थिए । १२ औं पेसीमा भने एकै दिन सम्पूर्ण सुनुवाइ गरेर सफाइको फैसला आएको थियो ।

६ महिनामा १२ पटक पेसी पर्दा ३ पटक सरकारी वकिलले एकतर्फी रूपमा र १ पटक प्रतिवादीका वकिलसँग मिलेर स्थगित गराएका थिए । त्यस्तै २ पटक आलमका वकिलले मात्रै स्थगित गराएका थिए । ४ पटक न्यायाधीशका कारण हेर्न नमिल्नेमा परेको थियो ।

रौतहटका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासबाट १३ वैशाख २०८१ मा जन्मकैदको आदेश पाएका आफताब, उनका भाइ महताब, शेख सेराज (सराज) र बद्री सहनीले उक्त आदेशविरुद्ध उच्चमा रिट जाहेर गरेपछि पहिलो सुनुवाइ ९ असोज २०८१ लाई तोकिएको थियो ।

१२ औं पेसीका क्रममा १४ जेठमा आएर न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमसहित चारै जनालाई निर्दोष भन्दै सफाइ दिएको हो । उच्चको फैसला आएयता रौतहटका श्रीनारायण सिंह राजपुत निदाउनै सकेका छैनन् । त्यसो त १८ वर्ष भइसक्यो उनी बेचैनीमा छटपटिएका । केही सम्झना, तर्कना र छटपटीका साथ किन नहोस्, गएको वर्षदेखि उनको खलबलिएको निद्रा केही फर्किएको थियो ।

तर उच्च अदालत वीरगन्ज इजलासले १४ जेठमा पूर्वमन्त्री आलमलाई सफाइ दिएदेखि उनको अनिद्रा फेरि बिथोलिएको छ । पिन्टु भनिने त्रिलोकसिंह उनैका छोरा हुन् जसलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै जिल्ला अदालत रौतहटले गएको वर्ष आलमलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । ‘छोराको आत्मशान्तिका लागि न्याय मिलोस् भनेर मैले १७ वर्ष लडें, ४ बिघा जमिन बेचेर सकें, बल्लतल्ल जिल्ला अदालतले दोषी भएको फैसला गर्‍यो,’ उनी भन्छन्, ‘तर, त्यही फैसलालाई उच्च अदालतले अस्ति उल्ट्याइदियो, यो देशमा कानुन त मरिसकेछ ।’

अभियोगपत्रका अनुसार आलमले संविधानसभा चुनावमा माहोल आफ्नो पक्षमा बनाउनका लागि आवश्यक पर्ने भन्दै गोठमा बम बनाउने काम गराएका थिए । त्यस क्रममा घाइते भएका मध्ये श्रीनारायणका छोरा पिन्टु र अर्का युवा ओसी अख्तरलाई राजापुरस्थित इँटाभट्टामा जिउँदै हालेर प्रमाण मेटाउने काम गरेको कसुरमा जिल्ला अदालत रौतहटले गत वर्ष असारमा आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो ।

त्यही फैसलालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनले पहिलो सुनुवाइमै सफाइ दिएका थिए । घटना घटेको प्रमाणित हुने कुनै तथ्य फेला नपरेको भन्दै १८ वर्षअघिको मुद्दालाई अदालतले सफाइ दिएपछि नारायणसिंहको पुत्र वियोगले दिएको घाउमा फेरि नुनचुक छरेजस्तो भएको छ ।

‘न्यायाधीशज्यूले त्यो घटनै भएको थिएन, प्रमाणै भेटिएन भनेर कसुरदारलाई छाड्नुभएको रहेछ,’ उनले मंगलबार काठमाडौंमा भने, ‘त्यो घटनै भएको थिएन भने मेरो छोरा होला नि त कतै, न्यायालयले खोजेर ल्याइदिनुहोस् न त !’ न्याय परिषद्सँग नारायणसिंहको यही प्रश्न छ । ‘म स्वयंले घटना भएको ठाउँमा भोलिपल्ट पुग्दा त्यहाँ क्षतविक्षत देखेको थिएँ, त्यो देखिजान्ने सारा गाउँलेहरू अहिले जिउँदै छन्, प्रहरीको प्रतिवेदन छ,’ उनी भन्छन्, ‘घाइते मानिस छन्, उनीहरूको बयान छ, बमकै छर्रा लागेर घाइते भएको भन्ने अस्पतालको रिपोर्ट छ । यो सबलाई चाहिँ न्यायाधीशले देख्नुभएन छ ?’

यो फैसला त्रुटिपूर्ण भएको र न्यायाधीशद्वयले तथ्यभन्दा बाहिर गई गलत काम गरेको भन्दै श्रीनारायणले रौतहटको गाउँ सरुअट्ठादेखि काठमाडौं आएर न्याय परिषद्मा सोमबार उजुरी दर्ता गराएका छन् । जिल्ला अदालतको फैसलाका निर्णयाधार, प्रत्यक्षदर्शीहरूको बकपत्र र मिसिल संलग्न प्रमाणका कागजपत्र एवं तथ्यलाई नजरअन्दाज गरी ‘हतार–हतार प्रतिवादीहरूलाई सफाइ दिने गरी फैसला गरेको’ उजुरीमा उनले उल्लेख गरेका छन् । उनका छोरा राजनीतिशास्त्रमा भारतको सीतामढीमा पढ्दै थिए । ‘ऊ राजनीतिशास्त्र पढेकाले भाषण गर्नमा तेज थियो,’ उनी भन्छन्, ‘उसको यही खुबी देखेर आलमले चुनाव प्रचारमा मद्दत गर्न तिम्रो छोरा पठाइदेऊ न भनेपछि मैले पनि नाइँनास्ति नगरी पठाएको थिएँ तर बम विस्फोटमा परेर बितेको खबर पो पाएँ ।’

घटनाको भोलिपल्ट मात्र आफूले खबर पाएको र आलमको घरमा गएर उनलाई भेट्दा ‘तिम्रो छोरा त हिजै सीतामढी गइसक्यो पढ्न भनेर’ भन्ने उत्तर दिएको उनलाई आजै जस्तो लाग्छ । ‘आलमजस्तो नेताले भनेपछि होला भन्ने लाग्यो र छोरा भेट्न भनेर म सीतामढी पनि पुगें,’ उनले भक्कानो छाडे, ‘तर त्यहाँ छोरा पुगेकै थिएन, जिउँदै इँटाभट्टामा हाली मारिसकेछन्, कसरी पो भेटिनु ?’

त्यसपछि आफू आलमविरुद्ध जाहेरी दिन प्रहरीकामा पुगेको उनले सुनाए । तर, प्रहरीले जाहेरी लिनै मानेन । उल्टै जिल्ला सरकारी वकिलको कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्मले आलमविरुद्ध मुद्दा नचलाउने निर्णय गरे । त्यसविरुद्ध रुक्सानाका साथ उनी सर्वोच्च पनि पुगे । तर, मुद्दा विचाराधीन हुँदै गर्दा ८ माघ २०६७ मा गोली हानी रुक्सानाको हत्या भयो । ‘रुक्साना मारिएपछि म एक्लै परें न्यायको लडाइँमा, मलाई पनि मार्लान् भन्ने डरले ज्यादै सतायो,’ उनले भने, ‘तर, ज्यानै लिएछन् भने पनि लिऊन्, म अन्यायका अघिल्तिर झुक्दिन भनेर आजसम्म आफैंलाई सम्झाइरहेको छु ।’

आलम पक्षधरले आफूविरुद्ध जासुसी गर्न गाउँकै केही मानिसलाई हातमा लिएको र घर छाडेर कतै गए फोन गरेर तुरुन्त खबर गरिदिने गरेको उनले बताए । ‘म असुरक्षित छु र जुनसुकै बेला मलाई जे पनि हुन सक्छ,’ प्रधानन्यायाधीशलाई सुनाइदिनुहोला भनेर उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘मलाई कि मेरो छोरा चाहियो, कि छोरा मार्नेलाई छाड्ने न्यायाधीशमाथि कारबाही भएको प्रमाण चाहियो ।’

गाउँमा धेरै पटक आलमका मानिसले छोराको ज्यान नजानु गइसक्यो, बरु पैसा लिएर केस मिलाउनु र बयान फेर्नॅ भनेर फकाउन आएको पनि उनले बताए । ‘मैले खोजेको पैसा होइन, न्याय हो,’ उनले भने, ‘त्यो म सास छउन्जेल खोजी नै रहनेछु ।’

त्रिलोककी ८३ वर्षीया आमा कमलादेवीको १ पुस २०८१ मा मृत्यु भएको थियो । उच्चको फैसलापछि असुरक्षित महसुस गरिरहेका उनले शान्तिसुरक्षाको याचना पनि गरिरहेका छन् । सिंह परिवारका त्रिलोक कान्छा छोरा हुन् । जेठा सत्येन्द्रप्रताप सिंहले अहिले बुबाको रेखदेख गरिरहेका छन् । घरमा सत्येन्द्र, उनकी श्रीमती मात्रै छन् । सत्येन्द्र दैनिकजसो सदरमुकाम जान्छन् । घरमा आफू एक्लै हुँदा डर लाग्ने सिंहले सुनाए । जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले श्रीनारायणको सुरक्षाका लागि नजिकको चौकीलाई निर्देशन दिएको बताए ।

न्यायका लागि लडेका श्रीनारायणले यसबीचमा आफ्नो समय मात्र होइन, मुद्दालाई न्यायको रूप दिन १७ वर्षमा ३ बिघा जमिन पनि बेचे । अहिले उक्त जमिनको मूल्य झन्डै २ करोड रुपैयाँ पर्छ । अझै केही जमिन बेचेर उनी अन्तिम लडाइँ लड्ने योजनामा छन् । अहिले गाउँमा उनको ७/८ बिघा जमिन छ । न्यायका लागि सर्वोच्च अदालत जाने सोचिरहेका उनी खर्चको जोहोमा जुटेका छन् । सर्वोच्च नजान यतिखेर उनीमाथि दबाब परेको छ । ‘गाउँका केही मानिस प्रयोग गरी आलमका मानिसले सर्वोच्चमा मुद्दा नदिन भनिरहेका छन्,’ उनले भने, ‘कुनै रवाफ र दबाब म सहँदिनँ । अबको यात्रा भनेको सर्वोच्च हो ।’

भारतको सीतामढीस्थित गोयन्का कलेजमा बीएस्सी दोस्रो वर्ष अध्ययन गरिरहेका त्रिलोक २०६४ चैत १७ मा घर आएका थिए । ०६४ चैत २७ गते राजपुर फरदहवास्थित कांग्रेस नेता शेख इद्रिसको गोठमा विस्फोट हुँदा घाइते हुन पुगेका त्रिलोक र छिमेकी ओसी अख्तरलाई बेहोस हुने सुई लगाएर जिउँदै इँटाभट्टामा हालेको आरोपमा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम, उनका भाइ महताब आलमसहित ११ जनाविरुद्ध कारबाही माग राख्दै बुबा श्रीनारायणले काठमाडौं र गौर अदालत धाएका थिए ।

घटनाको १२ वर्षपछि २०७६ असोज ११ मा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी (हाल एसएसपी) भूपेन्द्रबहादुर खत्रीले आलमलाई पक्राउ गरेपछि बल्ल अनुसन्धान अघि बढेको थियो । शक्तिका आडमा दबाइएको उक्त बम काण्डमा मुछिएर बयानका लागि बोलाइएका ठूला मानिसहरू पृष्ठभूमिमा छन् । तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणा, तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण गौतम, पूर्वप्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, पूर्वप्रहरी उपरीक्षक रामकृष्ण लामालाई अदालतले बकपत्रका लागि १९ कात्तिक २०७७ मा बोलाएको थियो ।

घटनाका दिन त्रिलोकलाई आफताबका मानिसहरू आएर चुनाव प्रचारका लागि भनेर बोलाएर लगेको श्रीनारायणले सुनाए । ‘चुनावका बेला प्रचारमा गयो होला भनेर चुप बसें,’ उनले भने, ‘तर भोलिपल्ट बिहानपख गाउँका मानिसले विस्फोटमा त्रिलोक मारिएको खबर सुनाए । केहीबेर विश्वास लागेन । घटनास्थल भनिएको राजपुर गाउँमा जाने हिम्मत नै भएन ।’

घटनास्थल पुगेका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मारिएका) पूर्वप्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, पूर्वप्रहरी उपरीक्षक रामकृष्ण लामाले कुनै किसिमको विस्फोट नभएको भन्दै मुचुल्का तयार पार्न लगाएका थिए । त्यही मुचुल्कालाई आलम पक्षका अधिवक्ताले अन्तिमसम्म नजिर बनाएर घटना नै नभएको भनेर बहस गरे ।

६ वैशाख २०६५ मा श्रीनारायण जाहेरी बोकेर जिल्ला प्रहरी रौतहट पुगे पनि  कुनै सुनुवाइ भएन । त्यसबेलाका एसपी न्यौपानेले श्रीनारायणको जाहेरी दर्ता नै गरेनन् । घटनामा घाइते सरुअठाका २० वर्षीय ओसी अख्तरलाई पनि त्रिलोकसँगै जिउँदै भट्टामा हालेको भन्दै आमा रुक्साना खातुन पनि सिंहसँगै प्रहरीमा जाहेरी बोकेर गएकी थिइन् । दुवैको जाहेरीलाई प्रहरीले वास्ता नगरेपछि ९ वैशाखमा हुलाकमार्फत पठाए ।

१८ वैशाखमा जिल्ला प्रहरी पुगेको जाहेरीउपर प्रहरीले पीडित दुवैलाई बोलाएर सनाखत गरेको थियो । जाहेरी दर्तापछि ९ असार २०६५ मा आफताब आलमसहित ५ जना जिल्ला प्रहरीमा हाजिर भए । प्रहरीले त्यही दिन ५ जनासित बयान लिएर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा बुझायो । न्यायाधिवक्ताको कार्यालयले आलमसहित सबैलाई ३० असार २०६५ मा मुद्दा नचल्ने निर्णय गर्‍यो । जिल्ला न्यायाधिवक्ताको निर्णय पुनरावेदन अदालत हेटौंडा हुँदै महान्यायाधिवक्ताको कार्यालय काठमाडौं पुग्यो र मुद्दा नचल्ने निर्णय सदर भयो । त्यसपछि कांग्र्रेस नेता आलम आफूलाई केही नहुनेमा ढुक्क थिए ।

न्यायाधिवक्ताले गरेको निर्णय बदरको माग गर्दै श्रीनारायण र रुक्सानाले २५ साउन २०६५ मा सर्वोच्च अदालतमा निवेदन दिए । १६ जेठ २०७९ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिइन् ।

यसबीचमा ८ माघ २०६७ को साँझपख दुर्गाभगवती गाउँपालिकाको छतौनास्थित माइतीबाट सरुअठास्थित घर फर्किरहेका बेला उखुबारीमा लुकेर बसेका केही मान्छेले गोली हानी रुक्सानाको हत्या गरेका थिए । यो घटनापछि श्रीनारायण आफू पनि मारिने भयले त्रसित बने । रुक्सानाको हत्या घटनामा संलग्नताको अहिलेसम्म केही खुलेको छैन । उक्त घटनाको फाइल अहिले पनि जिल्ला प्रहरीमा थन्किएको छ ।

आलमको मुद्दालाई लिएर घटना भएको हल्ला चले पनि प्रहरीले अनुसन्धान अघि बढाएको देखिँदैन । जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले २०६७ को घटना भएकाले के भएको हो भन्ने मिसिल हेरेर मात्र थाहा हुने बताए । ‘रुक्सानाको हत्याको मिसिल हेर्न लगाएको छु,’ उनले भने, ‘त्यसबेला अनुसन्धान कसरी अघि बढाएको भन्ने तथ्य थाहा हुन्छ ।’

६ असार २०७६ मा आदेशको पालना किन नभएको भनेर सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको थियो । महान्यायाधिवक्ता कार्यालयको पत्रअनुसार तत्कालीन एसपी खत्री (हाल एसएसपी) ले आलमलाई २६ असोज २०७६ मा पक्राउ गरेका थिए ।

विस्फोटमा श्रीनारायणका छोरा त्रिलोक र रुक्साना खातुनका छोरा ओसीलाई जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा प्रहरीले मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, शेख फजलेहक, शेख भदई, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारलगायत ११ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहित १८ कात्तिक २०७६ मा अदालतसमक्ष अभियोगपत्र दर्ता भएको थियो ।

यही घटनामा ओसीकी श्रीमती आमना खातुन र ससुरा समसुल मियाँले अदालतमा बयान बदले । दुवैले आलमको पक्षमा बयान दिएपछि श्रीनारायण झस्किएका थिए । अहिले रुक्सानाको घरमा जाँदा समसुल र उनकी छोरी बोल्नै चाहँदैनन् । ‘हामीलाई यो विषयमा केही नसोध्नुस्,’ ओसीका ससुरा समसुल मियाँ भन्छन्, ‘अब बितेका कुरा गरेर फाइदा छैन । जे भयो भयो ।’

आलमलाई जिल्ला अदालत गौरले २९ कात्तिक २०७६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । मुद्दाको थुनछेक बहसका क्रममा आलमसहित चार जनालाई रौतहट अदालतले १३ वैशाख २०८१ मा जन्मकैदको फैसला सुनाएको थियो । विस्फोटमा घाइते भारतको सीतामढी ग्राम पञ्चायत मुसाहाचोक बैरगनिया थाना–२ का ४२ वर्षीय गौरीशंकर राम चमारको घाँटी र शरीरका विभिन्न भागमा पोलेर गम्भीर घाइते भएको प्रहरीले बलियो प्रमाण मानेको थियो । घाइतेमध्ये उनी सबैभन्दा बढी चोट लाग्नेमा थिए ।

तर आलम पक्षका वकिलले चमारलाई फर्जी घाइते बनाएर ल्याएको दाबी गरिरहे । सर्लाहीको गडैता–२ बेलवा जगदीका ५९ वर्षीय अर्का घाइते सफी महमदको पेटमा बमको छर्राले लागेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यति ठूलो प्रमाण हुँदाहुँदै उच्च अदालतले सबैलाई सफाइ दिएकामा आश्चर्य लागेको श्रीनारायणका कानुन व्यवसायी पुष्पराज पौडेल बताउँछन् ।

उच्च अदालत वीरगन्जले २७ चैत २०६४ मा बम विस्फोट भएको भनिएको वारदातस्थलको प्रमाण पुष्टि हुन नसकेको, विस्फोटमा घाइते भनिएका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई ट्याक्टरमा हालेर नजिकको राजा इँटाभट्टामा लगेर पोलेको भन्ने ठोस सबुत–प्रमाण वादीले पेस गर्न नसकेको, विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मृतकलाई इँटाभट्टामा पोलेको भन्ने अभियोग दाबी पुष्टि हुन नसकेको भन्दै सबैलाई सफाइ दिएको छ । घटनाबारे अनुसन्धान गर्नॅपर्ने माग बढ्दै गएपछि तत्कालीन एसपी घिमिरेले १६ वैशाख २०६५ मा इँटाभट्टाको माटो र १७ वैशाखमा इँटा निकालेर परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाएका थिए । उच्च अदालतले अभियोग दाबी पुष्टि हुन नसकेको भनेको छ । सरुअठाका स्थानीय सरोजकुमार साहले आलम छुटेको घटनाले आफूहरू आश्चर्यमा परेको बताए ।

कारागारबाट छुटेका पूर्वमन्त्री आलम मस्तिष्कघातका कारण काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारपछि अहिले रौतहटस्थित घरमा आराम गरिरहेका छन् । काठमाडौंमा अचानक बोली जानुका साथै शरीरको केही भाग कमजोर भएपछि आलमलाई न्युरो अस्पतालको आईसीयूमा राखेर उपचार गराइएको थियो । अस्पतालले जाँचपछि मस्तिष्कघात भएको पुष्टि गरेको थियो ।

कारागारमा रहँदा विभिन्नखाले रोगले ग्रस्त आलमको शरीर पूर्ण रूपले गलेको छ । एकोहोरो टोलाइरहने उनी हतपत मानिस चिन्दैनन् । आलमका छोरा डा. राजिक आलमले बुबालाई बिनाप्रमाण झूटो आरोपमा फसाइएको दाबी गरे । ‘हामीले के अन्याय गरेका छौं ? यसरी खेदाइमा परेका छौं । न्याय त हामीलाई चाहिएको छ,’ उनले भने, ‘लामो समय कारागार बसाइले बुबाको अवस्था नाजुक छ । यसरी भन्ने हो भने हामी आफैं पीडित छौं । अन्यायमा हामी परिरहेका छौं ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः